यस वर्षको बहु प्रतीक्षित चलचित्र ‘प्रेमगीत ३’ को विदेश राइट्स धमाधम बिक्री भइरहेको छ । केही दिन पहिले चलचित्रको उत्तर अमेरिका, क्यानडा लगायत अफ्रिकी देशहरूमा प्रदर्शनको लागी ग्लोबल नेपाली अवार्डले अधिकार किनेको थियो भने मङ्गलवार चलचित्रको युके र युरोपका ८ देशका लागि विदेश राईटस् बिक्री भएको छ । चलचित्र निर्माण पक्षले आफ्नो चलचित्र £२३५०० युरो (करिब रु ३० लाख) मा बिक्री भएको जानकारी दिएको छ । इनास चलचित्र प्रवर्द्धन समिति ग्लोबल संयोजक मनिष श्रेष्ठ र इनास युरोप कोर्डिनेटर सन्त कुमार थापा मगरबिच निर्माण पक्षले सहमति गरिसकेको छ । नेपालमा प्रचार प्रसारको थालनीसँगै सम्पूर्ण देशमा एकसाथ प्रदर्शन गर्ने योजना सहित 'प्रेम गीत ३' निर्माण टिम लागिपरेको छ ।
चलचित्रको राम्रो हाइप र ब्रान्डका कारण विदेशमा माग पनि राम्रो रहेको छ । जसको कारण चलचित्रको लागी मोटो रकम हाल्न वितरक पछि हटेका छैनन् । आगामी चैत २८ मा प्रदर्शनमा आउने चलचित्रमा नव-अभिनेत्री क्रिस्टिना गुरुङ, प्रेम पुरी, लक्ष्मी बर्देवा, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुष्कर कार्की, अनुभव रेग्मी, संवृद्धि शाही ठकुरीलगायतका कलाकारहरूको पनि अभिनय रहनेछ । आसुशेन फिल्मस् प्रोडक्सनको प्रस्तुति यस चलचित्रमा कल्याण सिंह र एलिश कार्कीको सङ्गीत रहेको छ भने राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजको कोरियोग्राफी रहेको छ । भूपेन्द्र अधिकारीले सम्पादन रहेको 'प्रेमगीत ३' चलचित्र ‘चपली हाइट ३’ सँग प्रतिस्पर्धामा उत्रने छ ।