प्रदर्शनको सँघारमा रहेको चलचित्र 'सेन्टी भाइरस' टिम यति बेला प्रचार प्रसारमा तीव्र गतिले लागिरहेको छ । देशको गौरवको आयोजना ‘अन्तर्राष्ट्रिय गौतम बुद्ध क्रिकेट रङ्गशाला’ निर्माणको लागी सहयोगार्थ निर्माण गरिएको यस चलचित्र प्रचार प्रसार गर्न निर्माता धुर्मुस सुन्तली दिन रात नभनिए लागिपरेका छन् । उनीहरूले गरेको मेहनतमा विभिन्न स्थानबाट सहयोगका लागी हातहरू अघि बढिरहेका छन् । धुर्मुस सुन्तली लगायतले चलचित्रको प्रमोसन मात्र गरिरहेका छैनन् रङ्गशाला निर्माणमा सहयोग गर्न पनि आह्वान गरिरहेका छन् । यसै बिच धुर्मुस सुन्तली फाउन्डेसनलाई राजधानीको शंखमुल स्थित 'अवेरनेस इन्टरनेशनल एकेडेमी' (एआइए)ले सहयोग हस्तान्तरण गरेको छ । विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकका तर्फबाट नगद रु.३४०२०० सहयोग गरेका छन् । सहयोग हस्तान्तरण तथा प्रमोसनल कार्यक्रममा पुगेका धुर्मुस र सुन्तलीलाई विद्यालयका तर्फबाट चेक हस्तान्तरण गरियो । कार्यक्रममा दुईले छोटो प्रस्तुति पनि दिएका थिए । साथमा रङ्गशाला निर्माणको लागी सहयोगार्थ बनेको चलचित्र 'सेन्टी भाइरस' पनि हेरेर सहयोग गर्न अनुरोध गरे । उनीहरूले यसरी आफूले सबै तिरबाट सहयोग पाइरहँदा अझ जिम्मेवारी बढेको आभास भएको सुनाए । चलचित्र 'सेन्टी भाइरस' यही शुक्रवारबाट प्रदर्शनमा आउँदै छ ।