यही शुक्रवारबाट प्रदर्शनमा आउने चलचित्र 'सेन्टी भाइरस' को तेस्रो गीत सार्वजनिक भएको छ । बुधवार चलचित्रको स्याड भर्जन गीत ‘ए नि लै’ सार्वजनिक गरिएको हो । सुशान्त गौतमको स्वर र सङ्गीत रहेको गीतमा हर्क साउदको शब्द रहेको छ । कथा वाचनको रूपमा प्रयोग गरिएको गीतले चलचित्रका पात्रहरूको जीवनलाई दर्साउँछ । सार्वजनिक लिरिकल भिडियोमा चलचित्रका प्राय सबै कलाकारलाई स्थान दिइएको छ । चलचित्रमा राजनीतिले परिवारमा ल्याएको उतार चढावको कथा भन्छ । चलचित्रमा धुर्मुस सुन्तलीले पति पत्नीको भूमिका निभाएका छन् भने उनीहरू फरक फरक पार्टीलाई नेतृत्व गर्छन् । धुर्मुस-सुन्तलीले निर्माण गरेको चलचित्र‘सेन्टी भाइरस’ले कमाएको मुनाफाको ५० प्रतिशत रकम रङ्गशाला निर्माणमा खर्च गरिनेछ ।

रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रमा सिताराम कट्टेल र कुञ्जना घिमिरेका साथमा दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल, सुर्यमाला खनाल, वसन्त भट्ट र दीपक आचार्यको मुख्य भूमिका रहेको छ । सुबिहानी फिल्मस प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रमा डिन्डु लामा ह्योल्मोको लगानी छ भने फुर्पा लामा सह-निर्मातामा रहेका छन् । ‘सेन्टी भाइरस’मा राजनराज सिवाकोटी र कालीप्रसाद बास्कोटाको सङ्गीत, शैलेन्द्र डी कार्कीको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको छ ।