आज शुक्रवार नेपाली हलहरूमा दुई नयाँ चलचित्र प्रदर्शनमा आएका छन् । लामो समयको व्यापारिक शून्यतालाई चलायमान बनाउने आशा सहित दर्शकले प्रतीक्षा गरेका चलचित्र 'सेन्टी भाइरस' र 'आमा' प्रदर्शनमा आएका हुन् । आज हिन्दु धर्मावलम्बीहरूको एक विशेष चाड महाशिवरात्रीको अवसर पारेर पशुपतिप्रसाद फेम्ड निर्देशक दीपेन्द्र के खनाल निर्देशित 'आमा' र धुर्मुस सुन्तलीको 'सेन्टिभाइरस' एकसाथ मैदानमा उत्रेका हुन् । यी दुई चलचित्रले लामो समय निकै निराशाजनक स्थिति खेपेको नेपाली चलचित्रले सम्पूर्ण नेपाली चलचित्र क्षेत्रमा एउटा नयाँ ऊर्जा थपिदिने विश्वास दर्शक देखी चलचित्रको व्यावसायिक पाटो सम्हाल्ने सबैले लिएका छन् । चलचित्र 'सेन्टि भाइरस'मा राजनीतिले परिवारमा ल्याएको उतार चढावको कथा भन्छ ।
चलचित्रमा धुर्मुस सुन्तलीले पति पत्नीको भूमिका निभाएका छन् भने उनीहरू फरक फरक पार्टीलाई नेतृत्व गर्छन् । धुर्मुस-सुन्तलीले निर्माण गरेको चलचित्र‘सेन्टी भाइरस’ले कमाएको मुनाफाको ५० प्रतिशत रकम रङ्गशाला निर्माणमा खर्च गरिनेछ । रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रमा सिताराम कट्टेल र कुञ्जना घिमिरेका साथमा दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल, सुर्यमाला खनाल, वसन्त भट्ट र दीपक आचार्यको मुख्य भूमिका रहेको छ । यसै गरी आमा र सन्तानको सम्बन्धको कथामा बनेको 'आमा' मा अभिनेत्री द्वय मिथिला शर्मा र सुरक्षा पन्त प्रमुख भूमिकामा छन् उनीहरूले आमा छोरीको भूमिका निभाएका छन् । शर्मिला पाण्डेले निर्माण गरेको फिल्म आमामा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल लगायतका कलाकारको अभिनय छ ।