आज शुक्रवारबाट प्रदर्शनमा आएको धुर्मुस सुन्तलीको चलचित्र 'सेन्टी भाइरस' उत्साहजनक रूपमा प्रदर्शन भइरहेको छ । शुक्रवार एका बिहानै दर्जनौँ ट्याक्सी चालक हलमा चलचित्र हेर्न पुगेका छन् । बिहानै राजधानीको जय नेपाल हलमा पुगी आफैँ टिकट काटेर उनीहरूले 'सेन्टी भाइरस' हेरेका थिए । उनीहरूसँग साक्षात्कार गर्न र प्रतिक्रिया लिन निर्माता कलाकार धुर्मुस र सुन्तली हल पुगेका थिए । यसै गरी बिहानी शोहरु निकै उत्साहजन भएको सिताराम कट्टेल 'धुर्मुस' ले बताएका छन् ।
रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रमा सिताराम कट्टेल र कुञ्जना घिमिरेका साथमा दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल, सुर्यमाला खनाल, वसन्त भट्ट र दीपक आचार्यको मुख्य भूमिका रहेको छ । सुबिहानी फिल्मस प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रमा डिन्डु लामा ह्योल्मोको लगानी छ भने फुर्पा लामा सह-निर्मातामा रहेका छन् । ‘सेन्टी भाइरस’मा राजनराज सिवाकोटी र कालीप्रसाद बास्कोटाको सङ्गीत, शैलेन्द्र डी कार्कीको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको छ ।