गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘लभ डायरिज’लाई दर्शकले ठिकै मन पराए । यसै चलचित्रबाट अभिनेत्री  रुविना थापा चलचित्र क्षेत्रमा प्रवेश गरेकी छिन् । चलचित्रमा उनले गरेको कामलाई सबैले मन पराएका छन् साथमा उनी एक सम्भावना भएकी नायिकाको रूपमा पनि हेरिन थालिएको छ । यसैबिच रुविना र उनका पिता महेश श्रेष्ठको पहलमा  अनाथ बालबालिकालाई चलचित्र देखाइएको छ । राजधानीको कुमारी हलमा अनाथ बालबालिकासँग चलचित्र हेर्न चलचित्रका मुख्य अभिनेता सुशील श्रेष्ठ, विश्व जित रिमाल, निर्देशक सौरभ चौधरीलगायतको उपस्थिति रहेको थियो । रुबिनाले 'बाल बालिकाको मानसिक विकासको लागी पुस्तक अनि शिक्षाको जति योगदान हुन्छ, त्यति नै योगदान चलचित्र र मनोरञ्जनको पनि हुने भएकाले’ आफूले अनाथ बालबालिकालाई आफ्नो चलचित्र देखाएको बताएकी छिन् । ललितपुर अवस्थित 'मैत्री नेपाल संस्था'का अनाथ बालबालिकाले खुसी हुँदै चलचित्र हेरेका थिए भने आफूलाई चलचित्र निकै मन परेको पनि सुनाए ।