शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘आमा’ ले दर्शकको माया उत्साहजनक रूपमा पाइरहेको छ । 'पशुपति प्रसाद फेम्ड निर्देशक दीपेन्द्र के खनाल निर्देशित चलचित्रको ओपनिङ शुकद रह्यो भने दोस्रो दिन शनिवार दर्शकको माया उल्लासमय तरिकाले पायो । पहिलो दिन मध्यम व्यापार गरेको चलचित्रले दर्शकको तारिफ राम्रो पायो जसको असार दोस्रो दिन शनिवारको व्यापारमा देखियो । शनिवार देशभरका सिनेमा हलमा हाउसफुल व्यापार गर्न सफल भएको चलचित्रका निर्माता तथा वितरकले जानकारी दिएका छन् । आइतबार पनि दर्शकको चाप राम्रो रहेको बुझिएको छ । विशेष गरी चलचित्र हेर्ने दर्शकको चाप मल्टीप्लेक्समा राम्रो छ भने चलचित्रलाई वर्ड अफ माउथको साथ मिलेको छ । आमा र सन्तानको सम्बन्ध र मर्म स्पर्शी कथा बोकेको आफ्नो पन भेटिने चलचित्र हेरे फर्किने दर्शकको आँखा ओभाएका थिएनन् ।

दर्शकलाई कलाकारको काम तथा कथा अनि दीपेन्द्रको आफ्नो पन मन परेको छ भने सबैभन्दा धेरै सम्बन्धले दिने आँसु र खुसी मन परेको छ । चलचित्रलाई मिलेको उत्साहजनक प्रतिक्रियाले निर्देशक खनाल लगायत कलाकार निकै भावुक र खुसी भएको बताउँछन् । चलचित्रमा सुरक्षा पन्त र मिथिला शर्मा मुख्य भूमिकामा छन् भने उनीहरूका साथमा सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, टिका पहारीलगायतका कलाकारहरूको अभिनय  रहेको छ । यसमा कथा र छायाङ्कन पनि निर्देशक खनाल कै रहेको छ ।