शुक्रवारबाट महा शिवरात्रिको अवसर पारेर प्रदर्शनमा आएको चलचित्र 'सेन्टी भाइरस'ले बक्स अफिसको माहौल तताइरहेको छ । पहिलो दिन १.१२ करोड कमाउँदै शुखद् खाता खोलेको चलचित्रले दोस्रो दिन शनिवार १ करोड ३५ लाख कमाइ गर्‍यो । योसँगै चलचित्र वर्षको तेस्रो ठुलो ओपनर बनेको छ । धुर्मुस सुन्तलीले निर्माण गरेको यस चलचित्रले प्रदर्शनको दुई दिनमा २ करोड ४७ लाख पोल्टामा पारिसकेको छ । चलचित्रबाट आएको नाफाबाट ५० प्रतिशत भरतपुरमा निर्माणाधीन रङ्गशालामा खर्चिने भनिएकाले पनि चलचित्र हेर्न दर्शकको उपस्थिति अझ बढी रहेको हो ।

आइतबार पनि हलमा दर्शकको चाप भने घटेको छैन । चलचित्र निर्माण पक्षले दर्शकले चलचित्र मन पराएको र चलचित्र हेरेर मनोरञ्जनका साथमा सामाजिक कार्य पनि गर्न पाउँदा दर्शक उत्साहित रहेको बताएको छ । रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रमा सिताराम कट्टेल र कुञ्जना घिमिरेका साथमा दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल, सुर्यमाला खनाल, वसन्त भट्ट र दीपक आचार्यको मुख्य भूमिका रहेको छ । सुबिहानी फिल्मस प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रमा डिन्डु लामा ह्योल्मोको लगानी छ भने फुर्पा लामा सह-निर्मातामा रहेका छन् ।

‘सेन्टी भाइरस’मा राजनराज सिवाकोटी र कालीप्रसाद बास्कोटाको सङ्गीत, शैलेन्द्र डी कार्कीको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको छ ।