गएको हप्ता नेपाली रजतपटको लागी उपलब्धि मूलक नै रह्यो । चलचित्र सम्बन्धी विविध कार्यक्रम अनि चलचित्रका प्रचारप्रसार सामाग्री रिलिज, नयाँ चलचित्र रिलिज यिनै बिच नेपाली रजतपटको गत हप्ता गुज्रियो । चलचित्र क्षेत्रमा सानोतिनो उत्सव त जहिल्यै भइरहेकै हुन्छ । यसै गरी गएको हप्ता पनि नेपाली कला र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । साथै यो हप्ता प्रदर्शनमा आएका दुई नयाँ चलचित्रले महिनौँ देखी सुस्ताएको चलचित्रको व्यापारमा उछाल ल्याइदिएको छ । हेरौँ तस्बिरमा यो हप्ता ।
यस वर्षको बहु प्रतीक्षित चलचित्र ‘प्रेमगीत ३’ को विदेश राइट्स धमाधम बिक्री भइरहेको छ । केही दिन पहिले चलचित्रको उत्तर अमेरिका, क्यानडा लगायत अफ्रिकी देशहरूमा प्रदर्शनको लागी ग्लोबल नेपाली अवार्डले अधिकार किनेको थियो भने मङ्गलवार चलचित्रको युके र युरोपका ८ देशका लागि विदेश राईटस् बिक्री भएको छ । चलचित्र निर्माण पक्षले आफ्नो चलचित्र £२३५०० युरो (करिब रु ३० लाख) मा बिक्री भएको जानकारी दिएको छ ।
सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘माइकल अधिकारी’को छायाङ्कन समापन भएको छ । झापा र इलाममा ३८ दिन छायाङ्कन गरेर छायाङ्कन सकिएको हो । गोपी कृष्ण मुभिजको ब्यानरमा बनेको चलचित्रमा सौगात र सृष्टिसँगै अशान्त शर्मा, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलीप बोहरा लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ ।
सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘माइकल अधिकारी’को छायाङ्कन समापन भएको छ । गोपी कृष्ण मुभिजको ब्यानरमा बनेको चलचित्रको आइतबार इन्ड्क्ल्याप कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा चलचित्रको टिम सहित सञ्चार कर्मी रवि लामिछाने पनि उपस्थित थिए । लामिछाने कलाकार पनि हुन् उनले गाईजात्रामा हास्य प्रहसन, टेलिसिरियलमा अभिनय र नेपाल टेलिभिजनबाट प्रसारण हुने कमेडी शोको सञ्चालन पनि गरिसकेका छन् । ‘माइकल अधिकारी’ को प्रमोसन कार्यक्रममा पुगेका रवि ले चलचित्रको टिशर्ट नै लगाएर चलचित्रको बारेमा बोले ।
यस वर्षको बहु प्रतीक्षित चलचित्र ‘प्रेमगीत ३’ को दोस्रो गीत सार्वजनिक भएको छ । महा शिवरात्रिको अवसर पारेर 'हर युग होस्' बोलको गीत सार्वजनिक गरिएको हो । प्रताप दास र प्रविशा अधिकारीको स्वर रहेको शीर्ष गीतमा राजेश कुमार श्रेष्ठको शब्द र एलिश कार्कीको सङ्गीत रहेको छ । सार्वजनिक गीतमा फिल्मका चल अचल दृश्यहरू समावेश गरिएको छ । भिडियोमा दुई प्रमुख पात्र प्रेम(प्रदीप) र गीत (कृष्टिना) को प्रेम भाव बोकेको छ ।
गत मङ्सिर २९ गते चलचित्र कर्मी तथा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको थियो । हृदय घातका कारण मृत्यु भएका उनको परिवार बिछोडको पिडाबाट अझै बाहिरिन सकेको छैन । सक्नु पनि कसरी एकातिर आफ्नो घरको मुख्य सदस्य गुमाउनुको पिडा अर्को तिर उनले सम्हालेको आर्थिक भारको पिडा । उनको परिवारको आर्थीक असहजता र पिडालाई मल्हम लगाउन केही चलचित्र कर्मीले आफ्नो तर्फबाट सहयोग गरेका छन् । यसै बिच कलाकार तथा निर्माता दीपक राज गिरीले आफ्नो टिमले भट्टराई परिवारलाई रु १ लाख ११ हजार नगद सहयोग गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।
अभिनेत्री आँचल शर्मा यही फागुनमा वैवाहिक जीवनमा बाँधिँदै छिन् । उनले प्रेमी उदीप श्रेष्ठसँग विवाह गर्न लागेकी हुन् । फागुन अन्तिम साता उनको विवाह हुने भनिए पनि मिति भने सार्वजनिक गरिएको छैन । भर्खर आँचलले आफ्नो इन्गेजमेन्ट मिति सार्वजनिक गरेकी छिन् ।
चलचित्र ‘प्रेम पूजा’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । महाशिव रात्रिको अवसर पारेर चलचित्रको पोस्टर सार्वजनिक गरिएको हो । चलचित्र सस्पेन्स जनरामा निर्माण हुने चलचित्रको थिम पोस्टरबाट स्पष्ट हुन्छ । सामाजिक प्रेमकथा मा आधारित ‘प्रेम पूजा’ लाई अमर दीप सापकोटा ले निर्देशन गर्दै छन् । उनले यसअघि ‘कारखाना’ को निर्देशन गरेका थिए ।
प्रशान्त तामाङको मुख्य भूमिका रहेको चलचित्र ‘परदेशी’ को सिक्वेलको शुभ मुहूर्त गरिएको छ । ‘परदेशी २’ नाम राखिएको चलचित्रको शुभ मुहूर्तसँगै छायाङ्कन सुरु गरिएको छ । २०७२ सालमा प्रदर्शनमा आएको चलचित्रको सिक्वेलमा चर्चित लोक गायक प्रकाश सपुतले नायकको रूपमा डेब्यू गर्ने भएका छन् । भने उनको जोडीको रूपमा नायिका वर्षा सिवाकोटी देखिनेछिन् ।
चलचित्र ‘बोर्न टु डान्स’ निर्माण हुने भएको छ । चलचित्र निर्माण कम्पनी एबी इन्टरनेशनलले यस चलचित्रको निर्माण घोषणा गरेको हो । नृत्यमा आधारित रहेर निर्माण हुन लागेको यो चलचित्रलाई अमन तामाङले निर्देशन गर्दै छन् । एबी इन्टरनेशनलले निर्माण गरेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’ आगामी भदौ ५ गते रिलिज हुँदै छ । सत्य कथामा आधारित चलचित्रलाई निर्माण कम्पनीले ड्रिम प्रोजेक्टको रूपमा लिएको छ । चलचित्रको लोगो पोस्टर पनि सार्वजनिक गरिएको छ । भने आगामी वर्ष रिलिज गरिने बताइएको छ ।
सोमवार नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)को समापन गरियो । फेस्टिभलको अन्तिम दिन उत्कृष्ट चलचित्रलाई सम्मान गरियो । महोत्सवमा चलचित्र ‘बुलबुल’ले डबल ह्याट्रिक गर्यो । बुलबुलले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट पटकथा, आकृष्ट अभिनेत्री जुरी अवार्ड पुरुष र महिला गरी ६ वटा अवार्ड जित्न सफल भयो । विनोद पौडेलले पटकथा र निर्देशकको अवार्ड, स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्री, जुरी अवार्ड अवार्ड पुरुष र महिलातर्फको अवार्ड मुकुन भुसाल र लक्ष्मी बर्देवाले हात पारे ।
शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘आमा’ ले दर्शकको माया उत्साहजनक रूपमा पाइरहेको छ । 'पशुपति प्रसाद फेम्ड निर्देशक दीपेन्द्र के खनाल निर्देशित चलचित्रको ओपनिङ शुकद रह्यो भने दोस्रो दिन शनिवार दर्शकको माया उल्लासमय तरिकाले पायो । पहिलो दिन मध्यम व्यापार गरेको चलचित्रले दर्शकको तारिफ राम्रो पायो जसको असार दोस्रो दिन शनिवारको व्यापारमा देखियो ।
शुक्रवार नेपाली हलहरूमा दुई नयाँ चलचित्र प्रदर्शनमा आएका छन् । लामो समयको व्यापारिक शून्यतालाई चलायमान बनाउने आशा सहित दर्शकले प्रतीक्षा गरेका चलचित्र 'सेन्टी भाइरस' र 'आमा' प्रदर्शनमा आएका हुन् । हिन्दु धर्मावलम्बीहरूको एक विशेष चाड महाशिवरात्रीको अवसर पारेर पशुपतिप्रसाद फेम्ड निर्देशक दीपेन्द्र के खनाल निर्देशित 'आमा' र धुर्मुस सुन्तलीको 'सेन्टिभाइरस' एकसाथ मैदानमा उत्रेका हुन् ।
अभिनेता पल शाहले शनिवार आफ्नो जन्मदिन मनाए । उनले उनको आगामी चलचित्र 'म यस्तो गीत गाउँछु २' टिम र सञ्चार कर्मीका साथमा आफ्नो जन्मदिनको केक काटे । क्याफे एभेन्युमा जन्मदिन मनाउँदै गर्दा पलले आफ्नो चलचित्रको बारेमा र व्यक्तिगत सम्बन्धका बारेका कुरा गरे । साथमा अभिनेत्री पूजा शर्माले पनि पललाई शुभकामना दिँदै आफ्नो सधैँको मिल्ने साथी भनी सम्बोधन गरिन् । पूजाले पललाई सधैँ दर्शकको माया यसै गरी पाइरहनु भन्दै शुभकामना पनि दिइन् । चलचित्र 'म यस्तो गीत गाउँछु २'को बारेमा कुरा गर्दा चलचित्र कुनै पनि चलचित्रसँग मेल नखाने र ट्रेलर हेरेर अनुमान गर्नु गलत भएको बताए ।
चलचित्र ‘धुलो’ को ट्रेलर सार्वजनिक भएको छ । प्रद्युम्न मिश्र निर्देशित चलचित्रको ट्रेलर मङ्गलवार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो । ट्रेलरमा गाडा चलाएर जीविका चलाउने एक निम्न वर्गको पात्रको सङ्घर्ष देखाइएको छ । सार्वजनिक ट्रेलरमा बुद्धि तामाङ, अग्रज केसी र सृजना सुब्बालगायत कलाकारलाई स्थान दिइएको छ । जीवनयापन गर्न गाडा चलाउनेको जीवन शैली सपना र सङ्घर्ष समेटिएको चलचित्रमा बुद्धि तामाङको फरक भूमिका रहेको बताइएको छ ।
चलचित्र 'पर्खी बसे फर्की आउँछु' को गीत रेकर्डिङ भएको छ । चलचित्रको शीर्ष गीतमा गायक प्रेम परियार र सबनम आचार्यले स्वर भरेका छन् । सुन्दर पन्तको शब्द रहेको गीतमा वसन्त सापकोटाको सङ्गीत रहेको छ । अपाङ्गता भएकी युवतीको रहर र जीवन सङ्घर्षको कथा बोल्ने चलचित्रमा परियारको पनि अभिनय रहेको छ ।
शुक्रवारबाट प्रदर्शनमा आएको धुर्मुस सुन्तलीको चलचित्र 'सेन्टी भाइरस' ले पहिलो दिन उत्साहजनक व्यापार गर्न सफल भयो । लामो समय यता सुस्ताएको नेपाली चलचित्रको बजारलाई तताउँदै चलचित्रले पहिलो दिन १.१२ करोड कमाउन सफल भएको छ । चलचित्रले राजधानी भित्र मात्र ५९ लाखको व्यापार गर्यो भने राजधानी बाहिर ५३ लाख कमायो ।
शुक्रवारबाट महा शिवरात्रिको अवसर पारेर प्रदर्शनमा आएको चलचित्र 'सेन्टी भाइरस'ले बक्स अफिसको माहौल तताइरहेको छ । पहिलो दिन १.१२ करोड कमाउँदै शुखद् खाता खोलेको चलचित्रले दोस्रो दिन शनिवार १ करोड ३५ लाख कमाइ गर्यो । योसँगै चलचित्र वर्षको तेस्रो ठुलो ओपनर बनेको छ । धुर्मुस सुन्तलीले निर्माण गरेको यस चलचित्रले प्रदर्शनको दुई दिनमा २ करोड ४७ लाख पोल्टामा पारिसकेको छ ।
नेपालको पहिलो कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’को पहिलो सिजन यति बेला उत्कर्षमा पुगेको छ । पहिलो कमेडी च्याम्पियन घोषणा हुन केही समय मात्र बाँकी हुँदा यसै शोका निर्माता निर्देशकले अर्को कमेडी रियालिटी शोको निर्माण गर्ने तयारीमा लागेको छ । अभिनेत्री द्वय केकी अधिकारी र रीमा विश्वकर्माले निर्माण गर्ने शोलाई पनि विशाल भण्डारीले नै निर्देशन गर्नेछन् ।
चलचित्र 'सेन्टी भाइरस' को तेस्रो गीत सार्वजनिक भएको छ । बुधवार चलचित्रको स्याड भर्जन गीत ‘ए नि लै’ सार्वजनिक गरिएको हो । सुशान्त गौतमको स्वर र सङ्गीत रहेको गीतमा हर्क साउदको शब्द रहेको छ । कथा वाचनको रूपमा प्रयोग गरिएको गीतले चलचित्रका पात्रहरूको जीवनलाई दर्साउँछ । सार्वजनिक लिरिकल भिडियोमा चलचित्रका प्राय सबै कलाकारलाई स्थान दिइएको छ ।