गायन रियालिटी शो ‘नेपाल स्टार’को तयारी तीव्र गतिले भइरहेको छ । नेपाल टेलिभिजनले निर्माण गर्ने यस शोलाई वाइवाइले मुख्य प्रायोजन गर्ने भएको छ । आइतबार नेपाल टेलिभिजनका लागि ‘कि एडभरटिजमेन्ट’का रविन्द्र कुमार रिजाल र वाइवाइको तर्फबाट चौधरी ग्रुपमा मेनेजर निर्वाण चौधरीबिच सम्झौता भएको हो । सम्झौता कार्यक्रममा शोको बारेमा बोल्दै यस रियालिटी शोमा ५० लाख पुरस्कार राखिएको नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र विष्टले बताएका छन् । उत्कृष्ट ४ मा परेका सबैलाई पुरस्कार स्वरूप जनही ५ लाख पुरस्कार दिइने र टाइटल विजेतालाई थप ३० लाख पुरस्कार प्रदान गर्ने उनले जानकारी दिए । यसै गरी चौधरी ग्रुपका मेनेजर निर्वाण चौधरीले स्वदेशमा नै उत्पादन भएको रियालिटी शोमा स्पोन्सर गर्न पाउँदा खुसी लागेको बताएका छन् ।

युवालाई प्रोत्साहित गर्न चौधरी ग्रुप सधैँ तयार रहेको र यस रियालिटी शोबाट पनि गीत सङ्गीतामा रुचि र लगाव राख्ने कलाकार स्थापित हुने विश्वास लिए । नेपाल स्टारको पहिलो चरणको अडिसन सकिएको छ । सात वटै प्रदेश र काठमाडौँ गरेर ८ वटा सहरमा अडिसन लिइएको थियो । शोको लागि आलोक श्री, रामकृष्ण ढकाल र अन्जु पन्त निर्णायकको रूपमा रहेका छन् । फ्रेन्चाइज रियालिटी सो भन्दा नेपाल स्टार कमजोर नभएको निर्णायक ढकाल ले बताए ।