चलचित्र ‘हिजो आजका कुरा’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘माया जदौ’ बोलको गीत गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको स्वर छ । आनन्द अधिकारीको शब्द रहेको गीतमा दीपक शर्माले सङ्गीत भरेका हुन् । गीतको भिडियोमा कलाकार मदनकृष्ण श्रेष्ठ, हरिहर शर्मा, निर्देशक दीपाश्री निरौला, हास्य कलाकार द्वय जितु नेपाल, केदार घिमिरेदेखि नायिका नम्रता श्रेष्ठ, सङ्गीतकार शम्भुजित बास्कोटा, कलाकार गौरी मल्ल, निर्देशक दिनेश डिसी, नवीन के. भट्टराई, नायिका जेविका कार्की लगायत फिचर्ड छन् । गीत ले बिहेको माहौल बताउँछ । गीतको भिडियोमा एक पछि अर्को गर्दै कलाकारहरूको इन्ट्री हुन्छ जसले बलिउड चर्चित चलचित्र 'ॐ शान्ति ॐ' को गीत ‘दिवान्गी दिवान्गी’को झल्को दिन्छ । निर्देशक साकार पन्तले चलचित्रको कथाको माग अनुसार गीतमा नेपाली कलाकारहरूलाई प्रस्तुत गरिएको बताएका छन् ।

नेपाल टेलिभिजनबाट लामो समयसम्म प्रसारण भएको चर्चित हास्य टेलिसिरियल ‘हिजो आजको कुरा’कै नाममा यस चलचित्र बन्न लागेको हो । चलचित्रमा टेलिश्रृङ्खलाकै जोडी सन्तोष पन्त र रमा थपलिया मुख्य भूमिकामा रहेका छन् । अन्य कलाकारहरू केकी अधिकारी, रिमा विश्वकर्मा, नितेशराज पन्त, ऋचा शर्मा, जेविका कार्की, अनुष्का अधिकारी, सविन शाक्य लगायतका कलाकारको अभिनय रहनेछ । ‘हिजो आजका कुरा’ वैशाख २० गते देखि प्रदर्शनमा आउनेछ । चलचित्रमा पटकथा सन्दीप किस्नको रहेको छ ।