बलिउड अभिनेता अक्षय कुमार स्टारर चलचित्र ‘सूर्यवंशी’को प्रदर्शन मिति परिवर्तन भएको छ । यस वर्षको प्रतीक्षित चलचित्र रिलिज डेट भन्दा ३ दिन अगाडि अर्थात् २०२० मार्च २४  मङ्गलवार नै प्रदर्शन हुने भएको हो । अक्षयले ट्विटरमा एउटा भिडियो सार्वजनिक गर्दै आधिकारिक घोषणा गरेका हुन् । उनले चलचित्रको थिम बुझाउँदै ‘अपराधको लागी समय छैन, किनकि पुलिस आउँदै छ’ लेखेका छन् । योसँगै २४ मार्च देखि चौबिसै घण्टा मुम्बईको फिल्म हल खुल्ला हुनेछन् र २४ घण्टा प्रदर्शन हुने पहिलो चलचित्र ‘सूर्यवंशी’ बन्ने छ । चलचित्रमा अक्षयको अपोजिटमा कट्रिना कैफ छिन् । रोहित शेट्टीले निर्देशन गरेको फिल्ममा अजय देवगन र रणवीर सिंह विशेष भूमिकामा देखिनेछन् । साथै चलचित्रमा ज्याकी श्राफ, गुलशन ग्रोवर, सिकन्दर खेरको पनि अभिनय रहेको छ । यस अघि ‘सूर्यवंशी’ २७ मार्चमा प्रदर्शन हुने भनिएको थियो ।