यति बेला हलमा दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘आमा’ प्रदर्शन भइरहेको छ । चलचित्रले व्यापारिक हिसाबले तहल्का मच्चाउन नसके पनि दर्शकले यसलाई निकै मन पराइरहेका छन् । चलचित्रलाई राम्रो वर्ड अफ माउथ पाएका कारण दर्शकको चाप बढिरहेको छ । दर्शकले मात्र होइन चलचित्रलाई समीक्षकको पनि तारिफ पाएको छ । राम्रो समीक्षा पाएपछि हलमा दर्शकको उपस्थिति त बढेकै छ साथमा कला कर्मी पनि हलसम्म पुगेका छन् । यसैबिच फागुन ३० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को टिम चलचित्र हेर्न पुगेको थियो । चलचित्र हेरेपछि भिजेका आँखाका साथ हलबाट बाहिरिएका पूजा शर्मा, पल शाह लगायत टिमले आफूलाई 'आमा' निकै मन परेको प्रतिक्रिया दिए ।
अभिनेत्री पूजाले चलचित्रले भारी बनाएको मन अझ चलचित्रकी मुख्य अभिनेत्री सुरक्षालाई देख्दा सम्हालिन नसकेको बताइन् । उनले हरेक घरबाट हरेक छोरा छोरीले चलचित्र हेर्नु पर्ने बताइन् । उनले थपिन्, चलचित्रमा देखाएको कुनै कुरा बनावटी छैनन् हामीले बाँचेको जीवनको एउटा पाटोलाई चलचित्रको रूप दिइएको छ । यसै गरी अभिनेता पलले पनि चलचित्र निकै मर्मस्पर्शी बनेको र आफ्नो जीवनमा मेल खाने खालको भएको प्रतिक्रिया दिए । चलचित्रमा सुरक्षा पन्त र मिथिला शर्मा मुख्य भूमिकामा छन् भने उनीहरूका साथमा सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, टिका पहारीलगायतका कलाकारहरूको अभिनय रहेको छ । यसमा कथा र छायाङ्कन पनि निर्देशक खनाल कै रहेको छ ।