मङ्गलवार अभिनेत्री प्रियंका कार्कीले विवाहको लागी मेहेन्दी लगाइन् । उनले हुनेवाला पति अभिनेता आयुष्मान देशराज जोशीको नामको मेहेन्दी लगाइन् भने उनलाई साथ दिन जोशीले पनि प्रियंकाको नामको मेहेन्दी लगाए । उनीहरूको विवाह यही फागुन १५ गते हुँदै छ । उनीहरूको बिहेको रौनकले आफन्त, साथी र दुबैलाई छपक्कै छोपेको छ । मङ्गलवार प्रियंका र आयुष्मानले मेहेन्दी कार्यक्रम सकिएपछि बेलुका सङ्गीत कार्यक्रममा सहभागी भएका थिए ।
उनीहरूलाई साथ दिन र माहौल बनाउन प्रियंकाका नजिक का साथी र केही अभिनेत्री पनि सहभागी भएका थिए । सङ्गीतमा प्रियंका र आयुष्मानले डान्स गरेका थिए भने अभिनेत्री वर्षा राउत र उनका श्रीमान् संजोक कोइराला तथा अभिनेत्री श्वसतिमा खड्का लगायतले नृत्य प्रस्तुत गरेका थिए । प्रियंका र आयुष्मानले बिहेपश्चात् शुक्रवार भव्य पार्टीको समेत आयोजना गरेका छन् ।