अभिनेत्री रेखा थापाले नयाँ चलचित्र बनाउने घोषणा गरेको पनि धेरै भैसकेको छ । उनले पछिल्ला दिनमा चलचित्रको बारेमा खासै केही बाहिर ल्याएकी थिइनन् । तर लामो समय पछि उनले आफ्नो चलचित्रको लागी भइरहेको कामको बारेमा कुरा बाहिर ल्याएकी छिन् । उनले निर्माण गर्ने चलचित्रको एक गीत रेकर्ड गरिएको छ । गीतमा गायिका स्मिता दाहालले स्वर दिएकी छिन् । सानो उमेरदेखि नै गायनमा पोख्त स्मिता प्रचण्डकी नातिनी हुन् । उनको चर्चित गीत 'मायालु तिमी कता छौ' सुनेपछि रेखा र वसन्तले आफ्नो प्रोजेक्टमा उनलाई लिएका हुन् । गीतमा गायक प्रताप दासले पनि आफ्नो स्वर रेकर्ड गराइसकेका छन् । उक्त गीतमा सङ्गीत तथा शब्द वसन्त सापकोटाले सृजना गरेका छन् । भने एरेञ्ज उदयराज पौडेलले गरेका हुन् । रेखाको नयाँ चलचित्रको यो गीत पनि सुपर हिट हुन्छ भन्ने विश्वास वसन्त सापकोटाले लिएका छन् । सविर श्रेष्ठले निर्देशन गर्ने चलचित्रमा रेखा थापा, सौगात मल्ल र दयाहाङ राईको मुख्य भूमिका रहनेछ । वैशाखबाट छायाङ्कन सुरु हुने चलचित्र आगामी तिहारमा रिलिज हुनेछ ।