फागुन १६ बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘धुलो’ को यति बेला प्रचारप्रसारको काम भइरहेको छ । चलचित्रको प्रचार प्रसारलाई निरन्तरता दिँदै बुधवार राजधानीको क्षेत्रपाटी स्थित पब्लिक युथ क्याम्पसमा एक कार्यक्रमको आयोजना गरिएको थियो । धुलो टिमले लामो समयदेखि रिक्सा चलाएर जीवनयापन गर्दै आएका दुई जना रिक्सा चालकलाई सम्मान गरेको छ । विगत चार दशकदेखि ठमेल, क्षेत्रपाटी एरियामा रिक्सा चलाउँदै आएका हिरालाल तामाङ र दुई दशकदेखि सोही स्थानमा रिक्सा चलाउँदै आएका बलबहादुर श्रेष्ठलाई सम्मान गर्नुका साथै उनीहरूका दुई सन्तानलाई छात्रवृत्ति पनि प्रदान गरेको छ ।

प्रमुख अतिथि वरिष्ठ चलचित्र कर्मी नीर शाह, विशिष्ट अतिथि नेपाल टेलिभिजनका महाप्रबन्धक गोविन्द रोक्का र निर्देशक प्रद्युम्न मिश्रले सम्मान गरेका थिए । करिब एक सय जना रिक्सा चालकलाई ‘धुलो’ अङ्कित ज्याकेट प्रदान गरिएको कार्यक्रममा चलचित्रका तर्फबाट नागार्जुन एकेडेमीमा आगामी शैक्षिक सत्रदेखि रिक्सा मजदुरका दुई जना छोराछोरीलाई छात्रवृत्तिको व्यवस्था मिलाइएको घोषणा गरियो । कार्यक्रमपछि ‘धुलो’मा विशेष भूमिकामा रहेका अभिनेता शाह, प्रमुख भूमिकामा अभिनीत बुद्धि तामाङ,निर्देशक मिश्र,चलचित्र निर्माता सङ्घका अध्यक्ष अधिकारी, निर्देशक समाजकी अध्यक्ष राणालगायत फिल्मको युनिटले रिक्सामा क्षेत्रपाटी परिक्रमा गरेको थियो । राजधानीमा रिक्सा तथा ठेला गाडा चलाएर जीवनयापन गर्ने मजदुरको वास्तविक कथामा चलचित्र निर्माण गरेकाले उनीहरूकै सम्मानमा कार्यक्रम आयोजना गरेको निर्देशक मिश्रले बताए ।  

दीपा धरेलको प्रस्तुति रहेको चलचित्रमा बुद्धि तामाङ,अग्रज केसी,सृजना सुब्बा, प्रद्युम्न मिश्र,दामोदर गजुरेल,अमृता पाण्डे, बाल कलाकार सुदीप कार्कीलगायतका कलाकार मुख्य र नीर शाह, सुशील पोखरेल तथा लक्ष्मी बर्देवा विशेष भूमिकामा छन् । लक्ष्मी गौतम र नानीराम फुयाँल निर्माता रहेको चलचित्रको प्रोजेक्ट एडभाइजरमा सिके वाग्ले छन् । 'धुलो'मा केशव मिश्र र दीपक समीरको गीत,शङ्कर थापा र जुगल डंगोलको सङ्गीत, रविन आचार्यको छायाङ्कन रहेको छ । ​​​​​​​