पछिल्लो समयको चर्चित गीत ‘कुटुमा कुटु’ले एक करोड भ्युअर्स पार गर्दा चलचित्र ‘२ रुपैयाँ’ टिमले सेलिब्रेसन गरेको छ । छोटो समयमा एक करोड भ्यु पारेको खुसीयालीमा सोमबार चलचित्रका टिमले केक काटेर सेलिब्रेसन गरेको हो । ४९ दिनमै कुटुमा कुटुले युटुवमा एक करोडको भ्यु पाएको हो ।
कुटुमा कुटुको सेलिव्रेसनमा गीतकार, संगीतकार तथा गायक राजनरान सिवाकोटी, गायक राजन इशान, निर्देशक असिम शाह, नायक तथा निर्माता आशिफ शाह, कोरियोग्राफर कविराज गहतराज, नायिका स्वस्तिमा खड्का लगायत सहभागी थिए । एक करोड या दुई करोड भ्यु भन्दा पनि दर्शकले दिएको प्रतिक्रियाले खुसी बनाएको नायिका स्वस्तिमा खड्काले बताइन् । यस्तै गीतले जस्तै चलचित्रले पनि सबैको मन जित्न सक्नेमा निर्माण पक्षले दावी गरे ।

भदौ २३ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘२ रुपैयाँ’मा निश्चल बस्नेत, आशिफ शाह, बुद्धि तामाङ लगायत कलाकारहरुको अभिनय रहेको छ । नेपाल बाहिर रहेको निश्चल बस्नेत भने कार्यक्रममा उपस्थित हुन पाएनन् । कमेडी जनरामा बनेको चलचित्रलाई असिम शाहले निर्देशन गरेका हुन् ।