यति बेला हलमा दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘आमा’ प्रदर्शन भइरहेको छ । चलचित्रले व्यापारिक हिसाबले तहल्का मच्चाउन नसके पनि दर्शकले यसलाई निकै मन पराइरहेका छन् । सरल कथा बस्तु र हरेकको जीवनमा मेल खाने प्रसङ्ग चलचित्रमा भएकाले पनि चलचित्रलाई दर्शकले दर्शकले निकै रुचाइरहेका छन् । चलचित्रलाई राम्रो वर्ड अफ माउथ पाएका कारण दर्शकको चाप बढिरहेको छ । दर्शकले मात्र होइन चलचित्रलाई समीक्षकको पनि तारिफ पाएको छ । राम्रो समीक्षा पाएपछि हलमा दर्शकको उपस्थिति त बढेकै छ साथमा कला कर्मी तथा पब्लिक फिगर पनि हलसम्म पुगेका छन् । यसै बिच बुधवार चलचित्रको विशेष सो आयोजना गरिएको थियो । चलचित्र हेर्न सञ्चार कर्मी कला कर्मी लगायत थुप्रैको उपस्थिति रहेको थियो । चलचित्र हेरेर बाहिर निस्किँदा सबैको आँखा रसाएको देखिन्थ्यो भने कोही आफैलाई सम्हाल्न नसक्ने अवस्थामा थिए । चलचित्र हेर्न सञ्चार कर्मी रवि लामिछाने श्रीमतीका साथमा पुगेका थिए ।

उनले आफूलाई चलचित्र निकै मन परेको बताएका छन् । उनले चलचित्र हेरुन्जेल आफ्नी आमालाई धेरै पटक सम्झिएको बताए । चलचित्रले आफूलाई विगतमा पुर्‍याएको पनि उनले सम्झिए । यसै गरी अभिनेत्री ॠचा शर्माले चलचित्र हेरेपछि आफूलाई सम्हाल्न सकिनन् । केही समय अघि मात्र आमा गुमाएकी उनले केही बोल्नै सकिनन् । चलचित्र हेर्न नेपाली पहिलो नायिका भुवन चन्द पुगेकी थिइन् । उनले चलचित्र निकै राम्रो बनेको प्रतिक्रिया दिइन् भने मिथिला र सुरक्षा दुवैको अभिनय निकै राम्रो रहेको बताइन् ।  चलचित्रको बारेमा बोल्दै वरिष्ठ अभिनेता निर शाहले पनि चलचित्र एउटा क्लासिक चलचित्र बनेको र निर्देशक खनाल सफलताको नजिक पुगेको भन्दै शुभकामना दिए ।

चलचित्र हेरेका सबैले लामो समय पछि एउटा मन छुने चलचित्र बनेको र सबैले हेर्नै पर्ने सुझाव दिए । चलचित्रमा सुरक्षा पन्त र मिथिला शर्मा मुख्य भूमिकामा छन् भने उनीहरूका साथमा सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, टिका पहारीलगायतका कलाकारहरूको अभिनय  रहेको छ । यसमा कथा र छायाङ्कन पनि निर्देशक खनाल कै रहेको छ ।   ​​​​​​​