पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को प्रचारप्रसारको काम तीव्र रूपमा भइरहेको छ । फागुन ३० गते प्रदर्शनमा आउने चलचित्रको टिम यति बेला दर्शकसँग साक्षात्कार गरिरहेका छन् । यसै बिच बिहीबार चलचित्र युनिटले राजधानीको चाबहिल स्थित ब्रिलियन्ट कलेजका विद्यार्थीसँग अन्तर्क्रिया गरेका छन् । चलचित्रका निर्देशक सुदर्शन थापा, कलाकार पूजा शर्मा र पल शाहले विद्यार्थी सँग अन्तर्क्रिया गरे भने उनीहरूको जिज्ञासा पनि मेटाए । ब्रिलियन्ट कलेजले तीनै जनालाई भव्य स्वागत गरेको थियो ।
आफ्नो चलचित्र हेरिदिन आग्रह गर्न कलेज पुगेका अभिनेता पलले बर्सौँ पछि कलेज छिर्दा आफ्नो कलेज जीवनको याद आएको सुनाए । भने, ती दिन एक पटक सम्झिए । साथै पूजाले विद्यार्थी माझ आफू कलेज पढ्दाका किस्सा सुनाइन् उनले भनिन्, 'कलेज लाइफमा म पनि बदमास थिएँ । तर, कुन बाटोमा लाग्ने भन्ने उमेर नै यही हो । पढाइसँगै मनोरञ्जन पनि गर्नुहोला' । साथमा निर्देशक थापाले मानिसको जीवनमा पढाई सँगै मनोरञ्जन पनि उत्तिकै आवश्यक रहेको भन्दै फागुन ३० गते ‘म यस्तो गीत गाउँछु २’ हेरिदिन आग्रह गरे । कलेज पुगेका पल र पूजाले चलचित्र हेरिदिन आग्रह मात्र गरेनन् स्टेज चढेपछि पल र पूजाले सिनेमा गीत ‘तिम्रो घरको वरिपरि’ मा नृत्य पनि गरे ।
यस्तै कलेजका विद्यार्थीले पनि आफ्नो तर्फबाट प्रस्तुति दिएका थिए । चलचित्रमा पल र पूजासँगै हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनीका रोकायलगायतका कलाकारको अभिनय रहेको छ । सुदर्शन थापा कै कथा रहेको चलचित्रमा अर्जुन पोखरेलको सङ्गीत, सौरभ लामाको छायाङ्कन र बनिश शाह मिलन श्रेष्ठको सम्पादन छ । यसको पटकथा शिवम अधिकारी र दिनेश न्यौपानेले लेखेका हुन् ।