धुर्मुस सुन्तलीले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले हेरेका छन् । बिहीबार ओलम्पियन दीपक विष्टको नेतृत्वमा बानेश्वरको वान सिनेमाजको दिउँसो १२ बजेको सो बुक गरेर खेलाडीले सिनेमा हेरेका हुन् । रङ्गशाला निर्माण अभियानमा सहयोगार्थ निर्माण गरिएको चलचित्र हेर्न पुगेका खेलकुद सङ्घका अध्यक्ष दीपक श्रेष्ठले धुर्मुस-सुन्तली फाउन्डेसनलाई ६० हजार नगद हस्तान्तरण गरे । उनले ‘खेलाडी कै लागि भनेर धुर्मुस-सुन्तलीले रङ्गशाला निर्माणको लागि अगाडी बढेको र यस महान् कार्यमा खेलाडीको नाताले हातेमालो गर्ने मौका नमिलेको तर चलचित्र हेरेरै भए पनि यस महान् कार्यमा एउटा इट्टा थप्ने काम गर्न पाएकोमा खुसी भएको बताए । यस्तै यस्तै चलचित्र हेर्न पुगेका साउथ एसियन गेम्सको दोहोरो स्वर्ण पदक विजेता मण्डेकाजी श्रेष्ठले व्यक्तिगत ५ हजार सहयोग गरे ।

हल नै बुक गरेर रङ्गशाला निर्माण अभियानमा सहयोग पुर्‍याउने सम्पूर्ण खेलाडीलाई आभार प्रकट गर्दै धुर्मुसले ‘यो अभियान खेलाडी कै लागि हो र भोलि रङ्गशाला ठडिँदा मलाई भन्दा धेरै खेलाडीलाई गर्व महसुस हुनेछ' भने । रङ्गशाला निर्माणको लागी निर्माण गरिएको यस चलचित्र हेर्न विभिन्न सङ्घ संस्था, विद्यालय र व्यक्ति विशेषले हल नै बुक गरेर यस अभियानमा साथ दिइरहेका छन् ।  रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रमा सिताराम कट्टेल र कुञ्जना घिमिरेका साथमा दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल, सुर्यमाला खनाल, वसन्त भट्ट र दीपक आचार्यको मुख्य भूमिका रहेको छ । सुबिहानी फिल्मस प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रमा डिन्डु लामा ह्योल्मोको लगानी छ भने फुर्पा लामा सह-निर्मातामा रहेका छन् । ‘सेन्टी भाइरस’मा राजनराज सिवाकोटी र कालीप्रसाद बास्कोटाको सङ्गीत, शैलेन्द्र डी कार्कीको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको छ ।