चलचित्र ‘जारी’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । रामबाबु गुरुङको निर्माणमा बनेको चलचित्रको फर्स्टलुक सँगै प्रदर्शन मिति पनि प्रदर्शन सार्वजनिक गरिएको छ । आगामी जेठ २३ गते प्रदर्शनमा आउने चलचित्रलाई लेखक तथा कवि उपेन्द्र सुब्बाले निर्देशन गर्दै छन् । उनको यो डेब्यु निर्देशन हो । शुक्रवार सार्वजनिक पोस्टरमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरलाई स्थान दिइएको छ जसमा उनीहरू श्रीमान् श्रीमतीको भूमिकामा भएको अनुमान लगाउन सकिन्छ । ठेट नेपाली भाषामा जारी भनेको अर्काको श्रीमतीसँग कसैले विवाह गर्‍यो भने जरिवाना स्वरूप बिहे गर्ने नयाँ श्रीमानले पहिलाको श्रीमानलाई दिने रकम वा अन्य सम्पत्ति बुझिन्छ ।

गहिरो अर्थ बोकेको नाम राखिएको चलचित्रमा दयाहाङ र मिरुनासँगै प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, पुस्कर गुरुङ, कमलमणि नेपाललगायतका कलाकारहरूको अभिनय रहेको छ । सिनेमा आर्ट्स र बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र शैलेन्द्र डी कार्कीले फिल्म खिचेका हुन् । ‘जारी’ मा देवराज मादेन, सृजना लिंग्लेकु, अल्भिन लिम्बु, पिटर गुरुङ, देवयानी राई र क्षितिज लावती सह-निर्माताको रूपमा रहेका छन् । कवि लेखक टर्न निर्देशक उपेन्द्र सुब्बाले चलचित्रलाई उत्कृष्ट बनाउन आफूले कुनै सम्झौता नगरेको ब ताएका छन् । निमेष श्रेष्ठको सम्पादन, झुमा लिम्बु र सङ्गम पन्तको सङ्गीत रहेको 'जारी'लाई स्टेसन फाइभ र मनोज राठीले वितरण गर्ने छन् ।  

दयाहाङ र मिरुनाको 'जारी' फर्स्टलुक पोस्टर सार्वजनिक