'छक्का पन्जा ३' पछि ‘छ माया छपक्कै’ निर्माण गरेका दीपकराज गिरी र उनको टिम यति बेला 'छक्का पन्जा' सिरिज लाई नै निरन्तरता दिने तयारी गरिरहेको छ । केही समय अघि चलचित्रको निर्माण घोषणा भैसकेको छ भने चलचित्र रिलिज मिति पनि तोकिसकिएको छ । चलचित्र निर्माण पक्षले ‘छक्का पन्जा ४’ आगामी दसैँको फूलपातीमा रिलिज हुने घोषणा गरेको छ । चलचित्रका निर्माता, लेखक तथा कलाकार दीपकराज गिरीले रिलिज मिति बारे आधिकारिक जानकारी दिएका हुन् । उनले चलचित्र यही मितिमा रिलिज गरिने र कुनै हालतमा अघि पछि नहुने समेत प्रस्ट पारेका छन् । यसै डेटमा सफल चलचित्र 'ए मेरो हजुर' को चौथो भाग पनि रिलिज हुँदै छ ।

यसरी दुई प्रतीक्षित चलचित्रलाई जुधाउँदा व्यापारमा कसलाई कति फाइदा हुन्छ त्यो दर्शकको छनौटमा भर पर्नेछ । निर्माता दीपकराज गिरीले रिच इन्टरटेन्मेन्ट र जी .जी.ए ग्रुपलाई काठमाडौँभित्र र एफडी कम्पनीलाई मोफसलमा चलचित्र वितरण गर्ने अधिकार दिएका छन् । दीपाश्री निरौलाले निर्देशन गर्ने चलचित्रको कथामा काम भइरहेको छ । चलचित्रमा दीपकसँगै जितु नेपाल र केदार घिमिरेको प्रमुख भूमिका रहनेछ भने अभिनेत्री छनोट गरिएको छैन ।