अभिनेता अनमोल केसीलाई ठगीको आरोप लागेको छ । निर्माता द्वय जयन श्रेष्ठ र रुपेश खड्गीले हप्ता दिनअघि महानगरीय प्रहरी परिसर काठमाडौँमा उजुरी गरेको खुलेको छ । निर्माता द्वयले चलचित्र ‘धुपौरे’ मा अभिनय गर्न ५ लाख रुपैयाँ एडभान्स लिए पनि फिल्मका लागि समय नदिएको भन्दै उजुरी गरेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होविन्द्र बोगटीले अनमोल विरुद्ध उजुरी परेको पुष्टि गरेका हुन् । उजुरी पत्रमा अनमोलले गत असोज ३ गते ४० लाख पारिश्रमिक लिने गरी ‘धुपौरे’ मा अभिनय गर्ने सम्झौता गरेको उल्लेख छ । सम्झौताअनुसार ५ लाख अग्रिम भुक्तानी गरे पनि केसीले फिल्म नखेलेर ठगी गरेकोसमेत उल्लेख गरिएको छ ।

चलचित्रका लागि तय भएका अन्य कलाकार तथा टेक्नेसियनलाई अग्रिम रकम ३० लाख दिन लगाइ उनी भने सम्पर्कमा नआएर आफूहरूलाई आर्थिक रूपमा क्षति पुर्‍याएको निर्माता द्वय श्रेष्ठ र खड्गीले आरोप लगाएका छन् । उजुरीमा अनमोलका कारण भएको नोक्सानीको बिगो तथा कानुन बमोजिम क्षतिपूर्ति दिलाइदिन माग गरिएको छ । अनमोल ले स्क्रिप्ट परिवर्तन गरिएको र छायाङ्कनमा जान आफ्नो समय नमिलेका कारण आफूले हात झिकेको ब ताएका थिए । चलचित्रलाई साम्तेन भुटियाले निर्देशन गर्ने भनिएको थियो ।