धुर्मुस सुन्तलीले निर्माण गरेको चलचित्र 'सेन्टी भाइरस' दोस्रो हप्तामा प्रवेश गरेको छ । सुखद ओपनिङ्ग गरेको चलचित्र दोस्रो सातामा प्रवेश गर्दा पनि निकै उत्साहजनक रूपमा प्रदर्शन भइरहेको छ । चलचित्र दोस्रो हप्तामा पुग्दा पनि देशैभर हाउसफुल व्यापार गरेको छ वितरक गोविन्द शाहीले ब ताएका छन् । दर्शकले दिएको साथलाई आभार प्रकट गर्न धुर्मुस सुन्तली आफैँ हल सम्म पुगिरहेका छन् र प्रतिक्रिया लिनुका साथै धन्यवाद ज्ञापन पनि गरिरहेका छन् । दर्शकमा आभार प्रकट गर्दै उनीहरूले दर्शक आफूहरूका लागि भगवान् बनेर आइदिएको भनिरहेका छन् ।
चलचित्रको नाफाको ५० प्रतिशत रकम निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणमा सहयोग गरिने भनिएको छ । चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् भने सिताराम कट्टेल र कुञ्जना घिमिरेका साथमा दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल, सुर्यमाला खनाल, वसन्त भट्ट र दीपक आचार्यको मुख्य भूमिका रहेको छ । सुबिहानी फिल्मस प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रमा डिन्डु लामा ह्योल्मोको लगानी छ भने फुर्पा लामा सह-निर्मातामा रहेका छन् ।