चलचित्र ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनको सँघारमा छ । फागुन ३० गतेबाट रिलिज तयारीमा रहेको चलचित्रको टिम यति बेला प्रमोसनमा व्यस्त छ । चलचित्रका मुख्य कलाकार पल शाह र पूजा शर्मा राजधानी देखी मोफसलको यात्रा निकै दौडधुपसँग गरिरहेका छन् । निर्माण पक्षले चलचित्र प्रचारका लागि प्रत्यक्ष दर्शकसँग नै पुग्ने योजना अघि सारेको छ । यसै क्रममा सुर्खेतमा आयोजना भएको महोत्सवमा पुगेका पल र पूजा हजारौँ दर्शकमाझ उपस्थित भए । दर्शकलाई आफ्नो चलचित्रको बारेमा जानकारी मात्र गराएनन् दुईले दर्शकसँग चलचित्रको गीतमा नृत्य पनि प्रस्तुत गरे । कार्यक्रममा बोल्दै पलले आफ्नो घर दाङमा रहेको र सुर्खेत आउने चाहना पुरा भएको सुनाएका थिए । सुदर्शन थापा र पूजा निर्माण गरेको चलचित्रमा पूजा र पलका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरूको अभिनय रहेको छ । 'म यस्तो गीत गाउँछु २'को कथा शिवम अधिकारी र दिनेश न्यौपानेले लेखेका हुन् । बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको चलचित्रलाई सौरभ लामाले खिचेका हुन् भने पाँच वटै गीतमा सङ्गीतकार अर्जुन पोखरेलको सङ्गीत रहेको छ ।