धुर्मुस सुन्तलीले निर्माण गरेको चलचित्र 'सेन्टी भाइरस' दोस्रो हप्तामा प्रदर्शन भइरहेको छ । सुखद ओपनिङ्ग गरेको चलचित्र दोस्रो सातामा प्रवेश गर्दा पनि निकै उत्साहजनक रूपमा प्रदर्शन भइरहेको छ । यसै बिच चलचित्र निर्माण पक्षले आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी शनिवारसम्मको व्यापार आँकडा सार्वजनिक गरेको छ । वितरक गोविन्द शाही र प्रस्तुत कर्ता तथा कलाकार सिताराम कट्टेलले कलेक्सन सार्वजनिक गरेका हुन् । वितरक शाहीका अनुसार, चलचित्रले देशभरबाट दोस्रो साताको शनिवारसम्म ४ करोड ८ लाख कलेक्सन गरेको ग्रस कलेक्सन गरेको छ ।

जसमा चलचित्रले काठमाडौँमा २ करोड १० लाख ३ हजार र काठमाडौँ बाहिर १ करोड ९० लाख ५ हजार ग्रस कलेक्सन गरेको हो । चलचित्रका चलचित्रको कुल लगानी २ करोड ८५ लाख हो । कलाकार कट्टेलले ओभरसिज १ करोड १५ लाखमा विक्री गरेको र ४५ लाख डिजिटल राइट्सबाट आएको पनि जानकारी दिए । उनले चलचित्रको लगानी सुरक्षित भएको र अब मुनाफाको ५० प्रतिशत रङ्गशाला  निर्माणमा खर्चिने बताएका छन् । उनले अब आफू पूर्ण रूपमा रङ्गशाला निर्माणमा खटिने र रङ्गशाला निर्माण भएपछि कलाकारितालाई निरन्तरता दिने समेत जानकारी दिए ।

चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् भने सिताराम कट्टेल र कुञ्जना घिमिरेका साथमा दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल, सुर्यमाला खनाल, वसन्त भट्ट र दीपक आचार्यको मुख्य भूमिका रहेको छ । सुबिहानी फिल्मस प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रमा डिन्डु लामा ह्योल्मोको लगानी छ भने फुर्पा लामा सह-निर्मातामा रहेका छन् ।