दयाहाङ राई स्टारर चलचित्र ‘नीरफूल’को नयाँ प्रदर्शन मिति सार्वजनिक गरिएको छ । यस अघि फागुन ३० गते प्रदर्शनमा आउने भनिएको चलचित्र अब चैत ७ गते प्रदर्शनमा आउने भएको छ । चलचित्रलाई फूलमान वलले निर्देशन गरेका हुन् । धादिङ रुबी भ्यालीको एउटा परिवारमा भूकम्पको बेलाको मानवीय सङ्घर्ष र आम मनोविज्ञान पस्किन खोजेको निर्देशक वलले बताएका छन् । चलचित्र गणेश हिमाल क्षेत्रमा पर्ने रुबी भ्याली र काठमाडौँमा छायाङ्कन गरिएको छ । ‘नीरफूल’मा दयाहाङका साथमा रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतले अभिनय रहेको छ ।
चलचित्रमा निर्देशक वल र सचिन घिमिरेको पटकथा रहेको छ । प्रमोद कार्कीको छायाङ्कन, अर्जुन पोखरेलको सङ्गीत रहेको चलचित्रको सम्पादन निमेष श्रेष्ठले गरेका हुन् । फ्रेन्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता भने दुबईकी डोमा सोनाम हुन् ।