यो वर्षको होली पनि नजिकिँदै छ । होली पर्व सबैको लागी विशेष हुन्छ, यो विशेष पर्वलाई अभिनेत्री करिष्मा मानन्धरले हरेक वर्ष निकै रौनक का साथ मनाउने गरेकी थिइन् । गत वर्ष आफ्नो एसईइ परीक्षा परेकाले उनको घरमा आयोजना हुने भव्य होली कार्यक्रम आयोजना भएन । यो वर्ष पनि उनले होली कार्यक्रम नराख्ने भएकी छिन् । उनले कोरोना भाइरसको सङ्क्रमणको उच्च जोखिम रहेका कारण कलाकारहरू सँग घरमा होली नमनाउने भएकी छिन् । फेसबुकमा एक स्ट्याटस राख्दै उनले कोरोना सङ्क्रमणको यो परिस्थितिमा नजिकबाट भेटघाट हुने कार्यक्रम नगरेर सुरक्षा अपनाउन यो निधो गरेको बताएकी छिन् ।
होली नमनाए पनि होलीमा खर्च हुने रकम उनले सहयोग गर्ने भएकी छिन् । होलीमा गरिने खर्च मध्ये रु. एक लाख एक सय एक रुपैँया स्वर्गीय केशवराज भट्टराईको परिवारलाई सहयोग गरेकी हुन् । करिष्मा र उनका श्रीमान् विनोद मानन्धरले चलचित्र निर्देशक समाज मार्फत यो सहयोग गरेका हुन् । निर्देशक दिपाश्री निरौलाको हातमा उक्त रकम हस्तान्तरण गरिएको हो । स्वर्गीय केशव भट्टराईको परिवारलाई अमेरिकामा रहेका निर्देशक नारायण पुरी, गोपालचन्द्र लामिछाने, दिनेश कार्की, किशोर सुब्बा, अक्की शर्मा, यादव सिलवाल, विसी फुयाँल र सुमन दाहालले पनि सहयोग गरेका छन् ।