चलचित्र ‘प्रेमगीत ३’ को टिजर सार्वजनिक भएको छ । यस वर्षको प्रतीक्षित मानिएको चलचित्रको सार्वजनिक टिजर १ मिनेट ४५ सेकेन्डको रहेको छ । जसमा चलचित्रका मुख्य कलाकारलाई स्थान दिइएको छ । टिजर सार्वजनिक भएसँगै अभिनेता द्वय शिव श्रेष्ठ र प्रदीप खड्कासँगै नव-अभिनेता मनिष राउतको भूमिकाबारे अनुमान लगाउन सहज भएको छ । टिजरलाई मनोज लामाले न्यारेट गरेका छन् । टिजरको न्यारेसनमा कसैले मेट्न नसकेको, कसैले जलाउन नसकेको युगको कथा भनिएको छ । पिरियड ड्रामा ‘प्रेमगीत ३’ मा शिव, प्रदीप र मनिषका अलावा क्रिस्टिना गुरुङ, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री, जीवन भट्टराईलगायतका कलाकारको पनि अभिनय रहेको छ । यसले डेढ सय वर्ष अगाडिको प्रेमकथा भन्छ । छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशनमा निर्माण भएको चलचित्रमा राजेश श्रेष्ठको छायांकन र हिमाल केसीको एक्सन रहेको छ । यस चलचित्र चैत २८ गतेबाट प्रदर्शनमा आउँदै छ ।