चलचित्र ‘हिरो रिर्टन्स’को ट्रेलर सार्वजनिक भएको छ । रेखा थापा र सविन श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलर राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा रेखा र सविनको एक्सन देख्न सकिन्छ । निर्माणको लामो समय पछि रिलिजको तयारीमा जुटेको चलचित्रमा रेखा र सविनका साथमा दिल श्रेष्ठ, सुलेमान शङ्कर, सरोज खनाल लगायतको अभिनय रहेको छ । चलचित्रमा अभिनेता सरोज खनाल भिलेन अवतारमा देखिने छन् । आशिष भेटवालले निर्देशन गरेको चलचित्रमा चन्द्र गौतम, सहदेव गौतम र भीम न्यौपानेको लगानी रहेको छ । यसै गरी चलचित्रका कार्यकारी निर्माता अमित श्रेष्ठ हुन् । मदन काश्यप घिमिरेको छायाङ्कन गरेको 'हिरो रिर्टन्स' लाई मित्र डी गुरुङले सम्पादन गरेका हुन् । यसको कथा, पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका हुन् । निर्माण पक्षले चलचित्रलाई वैशाख २६ गते देखि प्रदर्शनमा ल्याउने तयारी गरेको छ ।