हृदयाघातका कारण दुई हप्ताअघि निधन भएकी निर्देशक निलु डोमा शेर्पाको सम्झनामा ओस्कार फिल्म कलेजका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने भएको छ ।  डोल्माको परिवार र कलेजबीच आइतबार ओस्कारमा पढ्ने ३  जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने सम्बन्धमा सम्झौता गरिएको हो । कलेजको तर्फबाट मुख्य कार्यकारी अधिकृत विनोद पौडेल र डोल्माको परिवारको तर्फबाट आमा छिरिङ शेर्पाले हस्ताक्षर गरेका थिए । 
कलेज प्रशासन र  डोल्माकी आमाबीच भएको सम्झौता अनुसार ओस्कारमा पढ्ने तीन जना जेहेन्दार विद्यार्थीले तीन वर्षका लागि कुल एक लाख रकम प्राप्त गर्नेछन् । छात्रवृत्तिका लागि महिला तथा लैंगिक अल्पसंख्यकलाई प्राथमिकता दिइनेछ । 

निलुको नाममा प्रदान गरिने छात्रवृत्तिसँगै अाेस्कर कलेजमा छात्रवृत्तिको संख्या २२  पुगेको कार्यकारी अधिकृत विनोद पौडेलले जानकारी गराए । ओस्कारलाई यसअघि नै नेपाल चलचित्र विकास बोर्डले १० जनालाई सिंगापुरको इनफिनिटी स्टुडियोले ५ जनालाई छात्रवृत्ति दिँदै आएको छ भने कलेज स्वयंले ४ जना महिलालाई ५० प्रतिशत छुटमा पढाउँदै आएको छ । छात्रवृत्ति यही साउन महिनादेखि सुरु हुने शैक्षिक सत्रदेखि प्रदान गरिनेछ ।