फागुन ३० गतेबाट अल नेपाल प्रदर्शनमा आउने तयारीमा चलचित्र 'म यस्तो गीत गाउँछु २' अन्योल मा परेको छ । प्रदर्शनको लागी चलचित्र निर्माण पक्षले निकै जोडतोडले तयारी गरिरहेको बेला तोकिएको मितिमा चलचित्र प्रदर्शनमा आउने कि नआउने भन्ने अन्योल सृजना भएको छ । पछिल्लो केही समय यता विश्वलाई नै सङ्कटमा लाने गरी फैलिएको 'कोरोना भाइरस'को आतङ्कले नेपाललाई पनि छोएको छ । पछिल्ला केही दिनमा सभा सम्मेलन लगायत भिडभाडमा नजान जो सरकारले कोहीलाई आग्रह गरेको छ भने धेरै मानिस भेला हुने ठाउँमा नजान सरकारले नै निर्देशन गरिसकेको छ ।

नेपाल पनि सङ्क्रमणको अति जोखिममा परेकाले यस्तो परिस्थिति  आएको हो भने यसबाट फिल्म इन्डस्ट्री अछुतो रहने कुरै भएन । दर्शकको चाप रहने र सङ्क्रमण फैलन नदिन सरकारले हलवालालाई पनि उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । यसै बिच कोरोना भाइरसको जोखिन रहुन्जेल हल नै बन्द गर्ने कि अन्य उपाय अपनाउने भन्ने छलफल जारी छ । हल नै बन्द गर्नु पर्ने स्थिति आएपछि प्रदर्शनको तयारीमा रहेका चलचित्रको लागी समस्या उत्पन्न भएको छ । यसै बिच यही फागुन ३० मा प्रदर्शन हुने भनिएको पल शाह र पूजा शर्मा स्टारर चलचित्र 'म यस्तो गीत गाउँछु २' रिलिज हुने कि नहुने भन्ने विषयमा छलफल भइरहेको छ । यसबारे चलचित्रका निर्देशक सुदर्शन थापाले अहिले हलसँग मिटिङ भइरहेको र रिलिज हुने बारे अझै टुङ्गो नलागेको बताएका छन् ।

चलचित्रमा पूजा र पलका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायालगायतका कलाकारहरूको अभिनय रहेको छ । 'म यस्तो गीत गाउँछु २'को कथा शिवम अधिकारी र दिनेश न्यौपानेले लेखेका हुन् ।