यति बेला कोरोना भाइरसको त्रासले विश्वकै ध्यान खिचेको छ । यसको सङ्क्रमण र यसबाट बच्नको लागी हर सम्मको प्रयास सबैले गरिरहेका छन् । यसबाट नेपाल पनि अछुतो छैन । नेपालमा कोरोना भाइरसको आतङ्क नै नमच्चिए पनि यसबाट बच्न र बचाउन सबैले आफ्नो ठाउँबाट लागिपरेका छन् । यसै बिच स्थानीय प्रशासनले काठमाडौँ जिल्लामा अर्को निर्णय नभए सम्मका लागि विभिन्न प्रकारका उत्सव, मेला, पर्व (होली लगायत) का कार्यक्रमको आयोजना नगर्न र त्यस्ता सम्मेलन तथा कार्यक्रममा सहभागी नहुन आग्रह गरिसकेको छ । यसै सूचनालाई आधार मान्दै नेपाल चलचित्र निर्माता सङ्घले एक विज्ञप्ति जारी गरेको छ । जारी विज्ञप्तिमा निर्माता सङ्घले फ्लोरमा रहेका सम्पूर्ण फिल्मको छायाङ्कन रोक्न आग्रह गरेको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सम्भव भएसम्म राज्यबाट अर्को सूचना जारी नभएसम्म छायाङ्कन रोक्न निर्मातालाई सङ्घले विज्ञप्ति मार्फत आग्रह गरेको हो । जसमा 'कोरोना भाइरसबाट हुने जोखिम न्यूनीकरणको लागि आफ्नो तह र तप्काबाट आम मानिसमा सचेतना जागृत गराउनका साथै छायाङ्कन भइरहेका चलचित्रहरूको हकमा सम्भव भएसम्म राज्यबाट अर्को सूचना जारी नहुन्जेल सम्मका लागि आ-आफ्नो चलचित्रको छायाङ्कन कार्य स्थगन गर्नुहुन सबैमा अनुरोध गर्दछौँ ।' भनिएको छ ।