‘मिस वर्ल्ड’ २०१९ टोनी एन सिंह तीन दिनको लागी नेपाल आएकी छिन् । सिंहले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसँग भेट गरेकी छिन् । संस्कृति, पर्यटन र उड्डयन मन्त्रालयको निमन्त्रणामा र मिस नेपाल आयोजक संस्था हिडन ट्रेजरको समन्वयमा उनी नेपाल आएकी छिन् । टोनीका साथमा मिस वल्र्ड आयोजकका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्टिभ डग्लससमेत नेपाल आएका हुन् । उनीहरूले पनि मन्त्री भट्टराईसँग भेट गरेका हुन् । विश्व सुन्दरी टोनी फागुन २३ गते ग्रेट हिमालयन ट्रेल, मोर्डन स्कुल र सोर्सिङ गाउँको भ्रमण गर्ने कार्यक्रम रहेको छ । उनीहरू मिस नेपाल वर्ल्ड २०१९ अनुष्का श्रेष्ठ र मिस नेपाल वर्ल्ड २०१८ शृङ्खला खतिवडाले बनाइरहेको प्रोजेक्ट अवलोकन गर्न र नेपालमा मिस वर्ल्ड आयोजना गर्ने नगर्ने विषयमा अध्ययन गर्न नेपाल आएका हुन् । टोनी शुक्रवार सिन्धुपाल्चोकको हेलम्बु पुगेर निर्माणाधीन हिमालय ग्रेट ट्रेल अवलोकन गर्नेछिन् भने हेलम्बुकै सोल्सिङ गाउँमा अनुष्काले गरिरहेको प्रोजेक्ट पनि हेर्नेछिन् । त्यसपछि टोनी मकवानपुर पुग्नेछिन् र पूर्व मिस नेपाल शृङ्खला खतिवडाले गरिरहेको प्रोजेक्ट अवलोकन गर्नेछिन् ।