प्रदर्शनको सँघारमा रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ हाललाई प्रदर्शनमा नआउने भएको छ । कोरोना भाइरसको त्रासका कारण फागुन ३० गते रिलिजको तयारी गरेको चलचित्रले अनिश्चित समयको लागि पछाडि सारेको हो । शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै सुदर्शन थापा प्रोडक्सनले, 'नेपाल सरकार र जिल्ला प्रशासनले मेला-महोत्सव र भिडभाड हुने कार्यक्रम नगर्न सूचना जारी गरिसकेको छ । चलचित्र निर्माता सङ्घले पनि चलचित्रको छायाङ्कन रोक्न आग्रह गरिसकेको अवस्थामा हामीले आम मानिसको स्वास्थ्यलाई ध्यानमा राखेर चलचित्रलाई पछाडि सार्ने निधो गरेका छौँ' भनेको छ ।

कोरोनाको कारण रोकियो ‘म यस्तो गीत गाउँछु २’को प्रदर्शन

अब नेपाल सरकारको नयाँ सूचना नआएसम्म चलचित्र कहिले प्रदर्शनमा ल्याउने भन्ने निश्चित भएको छैन । दर्शकलाई लामो समय चलचित्रको प्रतीक्षा गराउनु परेकोमा निर्माण पक्षले माफी मागेको छ । चलचित्रमा पूजा शर्मा र पल शाहका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायालगायतका कलाकारहरूको अभिनय रहेको छ । 'म यस्तो गीत गाउँछु २'को कथा शिवम अधिकारी र दिनेश न्यौपानेले लेखेका हुन् ।