यो वर्षको अन्तिम अर्थात् अर्को वर्षको सुरुवात नेपाली फिल्म इन्डस्ट्रीको लागी महत्त्वपूर्ण समय हुने भएको छ । सबै कुराले साथ दिए र घोषणा गरे अनुरूप काम अगाडी बढेमा चैत २८ गतेबाट निकेश खड्काको निर्देशनमा बनेको चलचित्र 'चपली हाइट ३' र सन्तोष सेन निर्देशित चलचित्र 'प्रेम गीत ३' प्रदर्शनमा आउने छन् । दुवै चलचित्र दर्शकले प्रतीक्षा गरेको चलचित्र हुन् । यी दुई चलचित्र एकै दिनबाट प्रदर्शनमा आउने भएपछि बजारमा विभिन्न किसिमको हल चल मच्चिएको छ । कतिपयले चलचित्रको प्रचार प्रसारको लागी जुधाइएको समेत भन्न भ्याएका छन् भने कतिले दुवैले स्वतन्त्र रूपमा आफूले चाहेको मितिमा प्रदर्शन हुन पाउनु पर्ने भनेका छन् । यसै विषयलाई लिएर चलचित्र बिच शीत युद्ध चलेको आभास हुन थालेको छ । यसै बिच चलचित्र 'चपली हाइट ३'का निर्माता अर्जुन कुमारले आफूलाई अप्रत्यक्ष रूपमा धम्की आएको बताएका छन् ।
उनले आफूलाई विभिन्न माध्यमबाट चलचित्र तोकेको मितिमा प्रदर्शन हुन नदिन थ्रेट आएको सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । उनले चैत्र २८ गते कसैको बिर्ता नभएको भनि आक्रोश पोखेका छन् । उनले बताए अनुसार आफ्नो चलचित्रको प्रचार प्रसार सामाग्री स्वरूप सार्वजनिक गरिएका टिजर, गीतमा समूह नै मिलेर गाली गलौच तथा चलचित्र सम्बन्धी नकारात्मक सन्देश फैलाउन लागी परेको बताएका छन् । यसका साथै उनले सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत तस्बिरलाई पनि दुरुपयोग गरी नराम्रा कमेन्ट गर्ने लयतका काम गरिएको भनेका छन् । हिजो भर्खर अर्जुन कुमारले निर्माण गरेको चलचित्र ‘चपली हाइट ३’को टिजर सार्वजनिक गरियो । सफल र चर्चित चलचित्रको सिक्वेल यस चलचित्रलाई दर्शकले प्रतीक्षा गरिरहेका छन् । तर टिजरको कमेन्ट सेक्सनले आम मानिसलाई त अचम्ममा पारिदिएको छ त्यसमा आफूले कमाएको करोडौँ पैसा लगानी गरेर निर्माण गरेको चलचित्र प्रदर्शन नै नगर्न कसैले धम्की दिन्छ भने त्यो सह्य हुने कुरै होइन । अर्जुन कुमारले आफू विरुद्ध समूह नै लागी परेको बताएका छन् ।
यसरी टिजरमा मात्र नभएर आफ्नो व्यक्तिगत अकाउन्टमा हस्तक्षेप गरेर आफूलाई अगाडी बढ्न नदिन खोजेको गुनासो गरेका छन् । उनको गुनासो निकै आरोशले भरिएको छ । उनले यस्तो घृणित काममाको लागी परेको भन्ने थाहा नपाए पनि आफूलाई निकै आघात परेको आशय प्रकट गरेका छन् ।