पछिल्ला केही दिन यता कोरोना भाइरसले आतङ्क नै मच्चाएको छ । विश्वभर कै जनजीवन प्रभावित गर्ने गरी फैलिएको यस भाइरसको कारण सबैले आ आफ्नो तर्फबाट सावधानी अपनाउन आग्रह सरकारले कोरोनाबारे विशेष सावधानी अपनाउन र भिडभाडमा नजान आग्रह गरिसकेको छ । यसै विषयलाई ध्यानमा राखेर नेपाल चलचित्र निर्माता सङ्घले एक विज्ञप्ति जारी गरेको छ । जारी विज्ञप्तिमा निर्माता सङ्घले फ्लोरमा रहेका सम्पूर्ण फिल्मको छायाङ्कन रोक्न आग्रह गरेको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सम्भव भएसम्म राज्यबाट अर्को सूचना जारी नभएसम्म छायाङ्कन रोक्न निर्मातालाई सङ्घले विज्ञप्ति मार्फत आग्रह गरेको हो । योसँगै केही समयको लागी हल पनि बन्द गर्ने कि भन्ने बहस चलिरहेको छ । हल बन्द नै गर्ने वा सावधानी अपनाएर सञ्चालन गर्ने भन्ने विषय अझै टुङ्गो लागिसकेको छैन । कोरोनाबाट बच्न र फैलन नदिनको लागी क्युएफएक्स हलले सेनिटाइजर लोसन, पाउडर र स्प्रे प्रयोग गर्न थालिसकेको छ ।
यस्तै निर्माता सङ्घ तथा प्राविधिक सङ्घले छायाङ्कनमा सहभागी हुने सबैको स्वास्थ्यको मध्य नजर गर्दै छायाङ्कन रोक्न अनुरोध गरेको हो । तर केही चलचित्रले भने सावधानी अपनाउने तर छायाङ्कन नरोक्ने भएका छन् । चलचित्र ‘परदेशी २’ र ‘ए मेरो हजुर ४’ले धमाधम छायाङ्कन गरिरहेका छन् । पोखराका विभिन्न स्थानमा छायाङ्कन भइरहेका दुवै चलचित्रले तत्काल छायाङ्कन नरोक्ने बुझिएको छ । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमित नभेटिएको र डराइहाल्नुपर्ने अवस्था नरहेकाले छायाङ्कनलाई निरन्तरता दिने निर्माण पक्षले जनाएको छ । यसै गरी चलचित्र ‘परदेशी २’ पनि छायाङ्कनमै छ । टिमले छायाङ्कन रोक्ने या जारी गर्ने भन्ने छलफल भइरहेको बताइएको छ । छायाङ्कन जारी राखे पनि सावधानी भने अपनाउने दुवै चलचित्रका निर्माताहरुले बताइरहेका छन् । छायाङ्कनको काम नसार्ने अठोट गर्दै अर्को चलचित्र ‘दुई नम्बरी’ पनि फ्लोरमा जान तयारी गर्दै छ । अर्को हप्ता चलचित्रको टोली राजधानी बाहिर जाँदै छ ।
निर्देशक दीपेन्द्र लामाले अहिले छायाङ्कन नै रोकेर बस्नु पर्ने अवस्था नरहेकाले आफूहरू काममा बाधा नल्याउने बताउँछन् । एकातिर दर्शकको भिड धेरै हुने हल हरू सञ्चालनमा आइरहनु र अर्को तिर कलाकार लगायत टेक्निकल पाटो सम्हाल्नेको जमात ठुलो हुने छायाङ्कन नरोकिँदा असार हुने नहुने बुझ्न भने जरुरी छ । हुन त नेपालमा सङ्क्रमणको जोखिम भए पनि सङ्क्रमण फैलिसकेको अवस्था छैन । जसले सबैले आफ्नो तर्फबाट सावधानी अपनाएमा जोखिम कम गर्न सहज हुन्छ ।