केही दिन अघि अभिनेता अनमोल केसीलाई ठगीको आरोप लगाइएको थियो । यति बेला चलचित्र 'ए मेरो हजुर ४' को छायाङ्कनको लागी राजधानी बाहिर रहेका उनलाई निर्माता द्वय जयन श्रेष्ठ र रुपेश खड्गीले आफ्नो चलचित्र ‘धुपौरे’ मा अभिनय गर्न ५ लाख रुपैयाँ एडभान्स लिए पनि फिल्मका लागि समय नदिएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौँमा उजुरी गरेका हुन् । उजुरी हाले सँगै प्रहरीले अनमोलको खोजी गरिरहेको समाचार जताततै छाइरहेको छ । यस बारे आजसम्म चुप रहेका अनमोलले स्पष्टीकरण दिएका छन् । आफ्नो सामाजिक सञ्जालमा 'सुटिङको सिलसिलामा व्यस्त भई काठमाडौँ बाहिर भएको बेलामा म माथि ५ लाख रुपैयाँ ठगीको आरोप लागेको बारेमा मिडिया मार्फत सुनेँ र स्तब्ध भएको छु । यो कुराको स्पष्टीकरण म मिडिया कर्मी मित्रहरूको सामु उपस्थित भएरै दिन चाहन्थेँ तर म अहिले सुटिङको क्रममा काठमाण्डौं बाहिर रहेकाले यही मार्फत आफ्नो कुरा राख्न चाहन्छु,' भनेका छन् ।

उनले थप्दै आफूले विश्वासमा 'धुपौरे'को वान लाइन स्टोरी सुनेर चलचित्रमा साइन गरेको र पछि स्क्रिप्टमा पहिले भनिए अनुसारको कथा नभए पछि आफूलाई राम्रो नलागेको र मोडिफाइ गर्न अनुरोध गर्दा नमाने पछि चलचित्रबाट आफूले हात निकालेको बताएका छन् । उनले आफूले एडभान्समा ५ लाख लिएको सत्य भएको तर चलचित्रमा काम नगर्ने भएपछि फिर्ता गर्न लाग्दा लिन नमानेको र अहिले आएर आफूलाई यस्तो आरोप लगाएको भनेका छन् । उनले अहिले पनि उहाँहरूले मैले लिएको पैसा जति बेला पनि लिएर जान सक्नुहुनेछ । 'मैले फिल्मको स्क्रिप्टमा थप होमवर्क गरौँ भन्दा उहाँहरूले इगोको रूपमा लिनुभयो र म सुटिङको सिलसिलामा बाहिर भएको मौका छोपी मेरो चरित्रहत्या गर्न खोज्नु भएकोमा म अत्यन्त दुखी भएको कुरा अवगत गराउँदै वहाँहरूसँग एडभान्स लिएको रकम जुनसुकै समयमा म फिर्ता दिन तयार रहेको जानकारी गराउन चाहन्छु', भनेका छन् ।