कोरोना भाइरसले विश्व भरका मानिसको शरीरमा मात्र आक्रमण गरिरहेको छैन यसको साथमा मना तथा दैनिकीमा पनि ठुलो असार गरिरहेको छ । विश्वकै अर्थतन्त्र डामाडोल हुने स्थिति आइसकेको छ । यसले हरेक क्षेत्र र स्थानका मानिसको आर्थिक पक्षमा नोक्सान पुर्याएको छ । विश्व नै प्रभावित भइरहेका बेला कलाकार यसबाट प्रभावित नहुने कुरै छैन । चलचित्र प्रदर्शन नहुनु, निर्माण काम ठप्प हुनु तथा सार्वजनिक कार्यक्रम हरू आयोजना नहुनु नै कलाकारहरूको लागी समस्या बन्ने भएको छ । कतिपय कलाकार, गायक गायिका मुलत: स्टेज कार्यक्रमबाट आफ्नो जीविका चलाउँछन् । तर कोरोना सङ्क्रमणको त्रास र जोखिमले धेरै मानिस जम्मा हुने कार्यक्रम बन्द भएका छन् ।
कलाकारले महिनौँ लगाएर गरेको तयारी खेर गएको छ भने आयोजकको ठुलो लगानी अप्ठेरोमा परेको छ । यसरी कोरोनाको असर भोग्नेमा गायक गायिका मात्र पर्दैनन् अन्य कलाकारको पनि स्थिति अप्ठेरो हुने देखिन्छ । किनकि पछिल्ला केही दिन यता न कुनै चलचित्रको निर्माण घोषणा भएको छ न प्रदर्शनमा आउने टुङ्गो छ । कलाकारहरूले यति बेला रेस्ट पाएका छन् । यो स्थितिको सामना कति समय गर्नु पर्ने हो त्यो निश्चित छैन । नेपालमा मात्र नभएर विश्व भर नै कार्यक्रम तथा स्टेज सोहरू रोकिएका छन् जसले गर्दा कलाकारहरू फुर्सदिला भएका छन् । टिकट नै बिक्री भइसकेको कार्यक्रम समेत स्थगित हुँदा आयोजक तथा कलाकारलाई निकै अप्ठेरो पर्ने भएको छ ।