कोरोना भाइरसको त्रास बढेसँगै प्रदर्शनको तयारीमा रहेका चलचित्रले एक पछि अर्को गर्दै प्रदर्शन स्थगित गरिरहेका छन् । नेपालमा मात्र नभएर हलिउड र बलिउडमा समेत यसको असर परेको छ । आगामी शुक्रवारको लागी प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ले केही दिन अघि अर्को सूचना नआए सम्मको लागी प्रदर्शन स्थगित गरिसकेको छ । यसै गरी चैत्र ७ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘निरफूल’को प्रदर्शन मिति पछि धकेलिएको छ । निर्माण पक्षले कोरोनाको त्रासकै कारण चलचित्र पछि सार्नुपरेको बताएको छ । निर्देशक फूलमान वलले, 'सर्वसाधारणको स्वास्थ्यलाई ख्याल गरी सरकारले समेत सार्वजनिक भेला, सभा, समारोह तथा कार्यक्रम नगर्न आव्हान गरिरहेको बेला हामीले पनि ‘नीरफूल’ को सार्वजनिक प्रदर्शन तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौँ' भनेका छन् । ‘नीरफूल’मा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतले अभिनय रहेको छ । चलचित्रमा निर्देशक वल र सचिन घिमिरेको पटकथा रहेको छ । प्रमोद कार्कीको छायाङ्कन, अर्जुन पोखरेलको सङ्गीत रहेको चलचित्रको सम्पादन निमेष श्रेष्ठले गरेका हुन् ।