आगामी वर्षको ‘मिस वर्ल्ड’ नेपालमा हुने आयोजना सम्भावना रहेको छ । मिस नेपाल आयोजक संस्था हिडन ट्रेजरले यसको लागी पहल भइरहेको बताएको छ । आयोजकले नेपालमा प्रतियोगिता आयोजना गर्न सके ऐतिहासिक हुने र मिस वर्ल्ड–२०२० नेपालमा हुने सम्भावना पनि धेरै रहेको पनि जनाएको छ । केही दिन अघि ‘मिस वर्ल्ड’ २०१९ टोनी एन सिंह तथा मिस वल्र्ड आयोजकका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्टिभ डग्लससमेत नेपाल आएका थिए । उनीहरू मिस नेपाल वर्ल्ड २०१९ अनुष्का श्रेष्ठ र मिस नेपाल वर्ल्ड २०१८ शृङ्खला खतिवडाले बनाइरहेको प्रोजेक्ट अवलोकन गर्न र नेपालमा मिस वर्ल्ड आयोजना गर्ने नगर्ने विषयमा अध्ययन गर्न नेपाल आएका थिए ।

मिस वर्ल्ड आयोजक संस्थाकी अध्यक्ष जुलिया मोर्ले र निर्देशक स्टिभ डग्लेसले नेपाल मिस वर्ल्ड प्रतियोगिता आयोजना गर्न उचित देश रहेको बताएका थिए । हिडन ट्रेजरका अध्यक्ष राजकर्णिकारले, 'नेपालको हिमाल, ऐतिहासिक पक्ष तथा सुन्दरताबाट मोहित भएर उहाँहरू नेपालमा मिस वर्ल्ड प्रतियोगिता गर्न सकिने भन्दै फर्किनु भएको छ,' भनेका छन् । यसका लागि जुलिया र स्टिभले तीन हप्ताभित्र प्रतियोगिता आयोजनाका लागि आवश्यक ‘रिक्वारमेन्ट’ पठाउने बताएका छन् । १३० देशका सुन्दरी प्रतियोगितामा सहभागी हुन्छन् भने उनीहरूलाई आयोजकले एक महिना वृत्ति विकासका लागि तालिम दिन्छ । उक्त तालिम प्रतियोगिता आयोजना गर्ने देशमै हुन्छ । पर्यटन प्रवर्द्धन तथा प्रचारका हिसाबले पनि प्रतियोगिता महत्त्वपूर्ण भएकाले मिस वर्ल्ड जसरी पनि नेपालमा गर्नुपर्ने पक्षमा हिडन ट्रेजर छ ।