कोरोना भाइरस सङ्क्रमणको त्रास फैलिएसँगै प्रदर्शन मिति सारेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को गीतलाई दर्शकले निकै मन पराइरहेका छन् । चलचित्रका मुख्य कलाकार पल शाह र पूजा शर्मा फिचर्ड गीत ‘तिम्रो घरको वरिपरि’ले युट्युबमा करोड प्लस भ्युज पाएको छ । चलचित्र रिलिज अगाडि यती धेरै भ्युज पाउने कमै गीतमा यस रोमान्टिक गीत पनि परेको छ । सार्वजनिक भएको २ महिनामा यस गीतले करोड भ्यूज पाएको हो । यस गीतलाई करिब दुई लाखले लाईक गरेका छन् भने करिब १५ हजारले कमेन्ट गरेका छन् । अधिकांश प्रतिक्रिया निकै सकारात्मक रहेका छन् । अर्जुन पोखरेलको शब्द तथा सङ्गीत रहेको गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा सौरभ लामाको छायाङ्कन छ । सुदर्शन थापाले निर्माण तथा निर्देशन गरेको चलचित्रमा पल र पूजासँगै हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकाय लगायत कलाकारको अभिनय रहेको छ ।