कोरोना भाइरसले विश्वभर नै जनजीवन प्रभावित पारिरहेको छ । यसकै प्रभावले विश्वभर कै फिल्म इन्डस्ट्रीले निकै ठुलो घाटा व्यहोर्नु परेको छ । एक पछि अर्को गर्दै चलचित्रको प्रदर्शन मिति स्थगन भइरहेका छन् । कति पय ठाउँमा त हल नै समेत बन्द गरिसकिएको छ । यसै क्रममा नेपालमा पनि हल बन्द गर्ने या नगर्ने भन्ने छलफल भइरहेको छ । हलमा नयाँ चलचित्र प्रदर्शनमा भने आएका छैनन् । यो शुक्रवारबाट प्रदर्शनको लागि तयारी गरेको चलचित्र  ‘म यस्तो गीत गाउँछु २’ ले प्रदर्शन स्थगन गर्‍यो । हलमा चलिरहेका चलचित्रलाई पनि यसले धेरै असर पारेको छ ।

गत २ हप्ता देखी नेपाली हलहरूमा कुनै पनि नयाँ चलचित्र प्रदर्शनमा आएका थिएनन् । तर फागुन ९ गतेबाट प्रदर्शनमा आएको 'सेन्टी भाइरस' र 'आमा' भने प्रदर्शन भइरहेका थिए । आक्रामक ओपनिङ गरेको 'सेन्टी भाइरस'ले बिस्तारै दर्शकको उपस्थिति कम पायो भने राम्रो वर्ड अफ माउथ पाएको 'आमा'को व्यापार बढ्दै गयो । यसै अनुरूप दर्शकको उपस्थिति नभए पछि मल्टीप्लेक्सहरु बाट धुर्मुस सुन्तलीको 'सेन्टी भाइरस' आजबाट उत्रिएको छ । भने 'आमा'ले अझै पनि राम्रो शोज पाएको छ । दर्शकको राम्रो साथ पाउन थालेपछि सुरक्षा पन्त र मिथिला शर्माको 'आमा' मारमा परेको छ । कोरोनाको सङ्क्रमणको त्रासले हलमा दर्शकको उपस्थिति निकै कम छ ।