फिल्मी खबर साप्ताहिकले आफ्नो वार्षिक उत्सवमा प्रदान गर्दै आएको फिल्मी खबर चलचित्र वर्ष व्यक्ति एवं फिल्मी खबर सवीन स्मृति रङ्ग पत्रकारिता पुरस्कार घोषणा गरेको छ । आफ्नो ११ औँ वार्षिकोत्सवका अवसरमा फिल्मी खबर चलचित्र वर्ष व्यक्तिका रूपमा यस पटक पुरुष तर्फ निर्देशक प्रदीप भट्टराई र महिला तर्फ गायिका मेलीना राई चयन भएको फिल्मी खबर साप्ताहिकले घोषणा गरेको छ । त्यस्तै रङ्ग पत्रकार सुमन पण्डितलाई पनि सम्मान गरिने भएको छ । थुप्रै टेलि चलचित्रमा कार्यगत अनुभव बटुली फिल्ममा प्रवेश गरेका प्रदीप भट्टराईलाई क्रमशः ‘जात्रा, शत्रुगते र जात्रै जात्राको ह्याट्रिक सफलतासँगै यस वर्ष सफल फिल्म ‘जात्रै जात्रा’का आधारमा चयन गरिएको फिल्मी खबरले बताएको छ ।

पार्श्व गायन यात्राको पहिलो गीत ‘कम्मरमाथि पटुकी’ (नाइ नभन्नु ल – २) देखि निरन्तर रूपमा पार्श्व गायनमा सफल मेलिना राईलाई यस वर्षको महिलातर्फको वर्ष व्यक्तिमा चयन गरेको फिल्मी खबरले बताएको छ । वरिष्ठ रङ्ग पत्रकार सविन शाक्यको स्मृतिमा स्थापना गरिएको 'फिल्मी खबर सविन स्मृति रङ्ग पत्रकारिता पुरस्कार' यस वर्ष रङ्ग पत्रकार सुमन पण्डित ‘वैरागी’लाई प्रदान गर्न लागिएको हो । वार्षिकोत्सवकै दिन कार्यक्रम आयोजना गरी सम्मान एवम् पुरस्कार प्रदान गर्दै आएको भए पनि  कोरोना प्रकोपका कारण केही दिनपछि कार्यक्रम गरी सम्मान र पुरस्कार प्रदान गरिने फिल्मी खबर साप्ताहिकका सम्पादक शान्ति प्रियले जानकारी बताएका छन् ।