सुशील श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘लभ डायरिज’ रि-रिलिज गरिएको छ । फागुन २ गते रिलिज भएको चलचित्रले राम्रो व्यापार गर्न सकेको थिएन जसको कारण लगानी नै डुबेको थियो । कमलपोखरीमा रहेको जय नेपाल हलबाट चलचित्रको रि-रिलिज सुरु गरिएको हो । सोमबारबाट जय नेपाल हलमा चलचित्रको प्रदर्शक सुरु भएको छ । वितरक करण श्रेष्ठले लभ डायरिज चलेको अर्को साता नै आमा र सेन्टीभाइरस रिलिज भएको र राम्रोसँग रिलिज समय नपाएकोले पुनः रिलिज गरेको बताएका छन् ।
हलमा यति बेला कुनै पनि नयाँ नेपाली चलचित्र प्रदर्शनमा आएका छैनन् । यसै मौका छोपेर लभ डायरिज प्रदर्शनमा ल्याइएको हो, तर कोरोना भाइरसको त्रासले हलमा दर्शकको उपस्थिति निकै न्यून रहेको छ । चलचित्रमा सुशीलका साथमा रुविना थापा, विश्व रिमाल लगायतको मुख्य भूमिका रहेको छ । यसलाई सौरभ चौधरीले निर्देशन गरेका हुन् ।