नेपालमा रियालिटी सो आयोजना गर्ने अनि भने बमोजिमको पुरस्कार अनि अवसर नदिने भन्ने विवाद पुरानै हो । कन्ट्याक्टको नाममा प्रतियोगी र फाइनलिस्टहरुलाई झुलाई राख्ने भन्दै धेरै पटक रियालिटी शोहरुको विवाद भइरहेको छ । यसै बिच नेपालमा पछिल्लो समय चर्चित बनेको साङ्गीतिक रियालिटी सो भ्वाइस अफ नेपाल फेरी विवादमा तानिएको छ । भ्वाइस अफ नेपाल सिजन १ का टप ४ फाईनलिस्ट मध्य एक हुन् कुशल आचार्य । भ्वाइस अफ नेपालको सिजन २ पनि सकिसकेको धेरै भैसकेको छ । तर पहिलो सिजनका फिनालिस्ट कुशलले यति बेला आएर भ्वाइस अफ नेपाल बारे प्रश्न उठाएका छन् ।

उनले , 'भोलि भोलि भन्दै कनट्रयाक्ट पेपरमा सहमति भएका कुराहरू सिजन दुई सकिदा पनि हामीलाई भनिएका कुराहरू पुरा नहुँदा याे प्रतिभा उजागरको नाममा मौलाएको ठगी धन्दा बुझेको छु' भन्दै आफ्नो सामाजिक सञ्जालमा लामो स्ट्याटस राखेका छन् । उनी भन्छन्, 'विश्व भ्रमण,एक वर्ष सम्मको खाने बस्ने व्यवस्था , मासिक एक लाख तलब , हरेक साे गरे बापत ५०% रकम जस्ता थुप्रै भ्रामक सपनाहरू देखाइए जुन कागतमा मात्र सीमित रहे । हामीले बारम्बार अनुरोध गर्दा पनि हामीलाई बेवास्ता गरियो । कनट्रयाक्टमा रहँदा आफू अनुकूल काम पनि हामीलाई गर्न दिइएन'।

सिजन २ का नयाँ कलाकार आइ सक्दा पनि सिजन १ कै हिसाब किताब नमिलेको उनको दाबी छ । उनले धेरै समय प्रतीक्षा गरेको र आफूलाई नाम दिने संस्थालाई सम्मान गर्दै धैर्य गरेको तर अन्याय गर्ने भन्दा पनि अन्याय सहनेको ठुलो गल्ती हुने भएकाले आफूले आवाज उठाएको भनेका छन् । साथै उनले यो अन्त्य नभएर सुरुवात भएको बताएका छन् ।   

भ्वाइस अफ नेपालका कुशल लेख्छन्, 'सपना देखाएर झुक्काइयो'