नायिका आँचल शर्मा बिहीबार वैवाहिक सम्बन्धमा बाँधिइन् । विवाहको लामो प्रक्रिया सकेपछि उनले सामाजिक सञ्जालमा मार्मिक र आफ्नो मनको कुरा साझेदारी गरेकी छिन् । उनले ‘हरेक केटीले आफ्नो जीवनमा कम्तीमा एक पटक आफ्नो विवाहको सपना बुन्छन् । यस्तै, सपना बुन्ने केटीले भर्खरै आफ्नो राजकुमार पाएकी छिन् । जसले आफ्नो सपनाको विषयमा अन्य मानिसको धारणा भन्दा पर रहेर आफ्नो सपनामा विश्वास गर्न सिकेकी छिन् ।’ लेखेकी छिन् । उनले प्रेमी  डा उदिप श्रेष्ठसँग लगन गाँठो कसेदेखि आयोजित रिसेप्सन पार्टी सम्मका विभिन्न प्रसङ्गले चर्चा परिचर्चा पाइरहेका छन् । पार्टीमा लगाएको ड्रेसको मूल्य र हेलिकप्टरको प्रयोग सम्मको कुराले उनको आलोचना पनि भइरहेका छन् ।

तर विवाह हरेक मान्छेको व्यक्तिगत अधिकारको कुरा हो र आफ्नो विवाहलाई कसरी अविस्मरणीय बनाउने त्यो विवाह गर्नेमा भर पर्छ । सायद बजारमा सुनिएका र सामाजिक सञ्जालमा ट्रोल बनिरहँदा आँचललाई पक्कै केही असर परेको छ जसको कारण उनी आफूले रोजेको मान्छे र आफूले चालेका हरेक कदम आफ्नो सपना अनुसार भएको दाबी उनले स्ट्याटस मार्फत गरेकी हुन् । उनले मनको कुरा राख्नुका साथै आफूहरूको ‘ड्रिम इभेन्ट’मा सहभागी हुने सबैलाई धन्यवाद दिएकी छिन् । सपनालाई सफल बनाउन आयोजनाको प्रयासलाई मनैदेखि स्वागत गर्ने सबै मानिसहरूको कारण नै सम्भव भएको समेत उल्लेख गरेकी छिन् ।