भ्वाइस अफ नेपाल सिजन १ का टप ४ फाईनलिस्ट मध्य एक कुशल आचार्यले कन्ट्रयाक्ट पेपर अनुसारका कुरा नभएको भन्दै भ्वाइसलाई खुल्ला पत्र लेखेका छन् । उनले भ्वाइस अफ नेपालको सिजन २ पनि सकिइसकेको धेरै समय पछि कुशलले यति बेला आएर भ्वाइस अफ नेपाल बारे प्रश्न उठाएका छन् । उनको यस कदमलाई साथ दिँदै टप ४ फाईनलिस्ट मध्य एक श्रीजय थपलियाले पनि खुल्ला पत्र लेखेका छन् । थपलियाले आफ्नो फेसबुक एकाउन्टमा कुशल आचार्य कै भनाइ साभार गर्दै पत्र लेखेका हुन् । उनले सिजन दुई सकिदा पनि हामीलाई भनिएका कुराहरू पुरा नहुँदा यो प्रतिभा उजागरको नाममा मौलाएको ठगी धन्दा बुझेको छु भन्दै गुनासो गरेका छन् । उनी लेख्छन्:
खुल्ला पत्र ….
….भोईस अफ नेपाल ……….
म भोईस अफ नेपाल सिजन १ को टप ४ फाईनलिस्ट मध्य एक सृजय थपलिया। मलाई यसरी सामाजिक सञ्जालमा आएर आफ्नै टिम भित्रको कुरा गर्न त मन थिएन ।तर मलाई सम्बन्धित ले नै बाध्य बनाएको हो। एक वर्ष लामो समय सम्म म मौन बसेको नै हुँ। आज आज भोलि भोलि भन्दै कनट्रयाक्ट पेपरमा सहमति भएका कुराहरू सिजन दुई सकिदा पनि हामीलाई भनिएका कुराहरू पुरा नहुँदा यो प्रतिभा उजागरको नाममा मौलाएको ठगी धन्दा बुझेको छु।
विश्व भ्रमण,एक वर्ष सम्मको खाने बस्ने व्यवस्था , मासिक एक लाख तलब , हरेक सो गरे बापत ५०५ रकम जस्ता थुप्रै भ्रामक सपनाहरू देखाइए जुन कागतमा मात्र सीमित रहे। हामीले बारम्बार अनुरोध गर्दा पनि हामीलाई बेवास्ता गरियो। कनट्रयाक्टमा रहँदा आफू अनुकूल काम पनि हामीलाई गर्न दिइएन।
कसैलाई झुटो सपना देखाई गीत सङ्गीतलाई व्यवसाय बनाउनु राम्रो होइन। अहिले सिजन २ का नयाँ कलाकार आई सक्दा पनि सिजन १ कै हिसाब किताब मिलेको छैन । यो निकै लज्जास्पद , हास्यास्पद र गैर जिम्मेवारी कुरा हो। भन्न त धेरैले भन्नु होला भोईस अफ नेपालले नै चिनायो र आज त्यसकै कुरा काट्दै छ। तर धैर्यताको पनि एउटा सीमारेखा हुँदो रहेछ र आज यसरी लेख्न बाध्य भएको हुँ । म जस्तो नव प्रतिभाको ठाउँमा उभिएर पनि सोचिदिनु होला अनि हामी माथि भएको अन्याय महसुस गर्नु हुनेछ। धेरैले भन्नु होला सृजयले यो के नाटक गर्याे एक वर्ष अघि नै किन यसरी कुरा ननिकालेको भनेर
। हामी नेपालमा सबैले भावना र सम्बन्धलाई कदर गर्दै काम गरेको हुन्छौँ। त्यसैले धेरै मौका दिए मैले पनि सम्बन्धित महानुभावहरू लाई । घुस लिने जतिकै दिने पनि उतिकै सजाएको भागीदार भए जस्तै अन्याय गर्ने भन्दा पनि अन्याय सहनेको ठुलो गल्ती हुन्छ। यो कुरा मैले मन देखि नै बुझेको छु र यो शैलीको अन्त्य पनि हुनुपर्छ भन्ने मेरो मान्यता हो। यो खुला पत्रलाई अन्त्य नसोचिदिनु होला यो त मात्र सुरुवात हो।
सृजय थपलिया
फाईनलिस्ट सिजन १