संसार भर कोरोना भाइरसले निकै सङ्कट ल्याइरहेको छ । हरेक क्षेत्रमा यसले निकै ठुलो घाटा पुर्‍याएको छ । यसको असार संसारभरिको फिल्म इन्डस्ट्रीमा परेको छ । जसबाट नेपाली फिल्म इन्डस्ट्रीले पनि ठुलो घाटा व्यहोर्नु पर्ने भएको छ । कोरोना भाइरसको त्रासले प्रदर्शनका लागी तयारी अवस्थामा रहेका चलचित्रले प्रदर्शन नै रोकिरहेका छन् । केही दिन अघि चलचित्र 'निर फूल'ले प्रदर्शन स्थगन गर्‍यो भने फेरी केही चलचित्रले प्रदर्शन मिति अनिश्चित समयको लागी स्थगन गरेका छन् । जसमा यस वर्षको निकै प्रतीक्षित चलचित्र 'प्रेमगीत ३' पनि रहेको छ । चैत २८ देखी प्रदर्शनमा आउने भनिएको चलचित्र कहिले प्रदर्शन हुने टुङ्गो छैन ।

यसै गरी चैत्र २१ गते रिलिज हुने भनिएको चलचित्र ‘लक्का जवान’ पनि अब रिलिज नहुने भएको छ । कलाकार शिवहरि पौडेलको निर्देशन तथा दिलीप रायमाझी, किरण केसी, प्रियंका कार्की, वर्षा सिवाकोटी लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रले योसँगै ठुलो घाटा व्यहोर्नु पर्ने भएको छ । साथै नयाँ वर्षको छेकोमा रिलिज हुने भनिएका चलचित्र 'प्रेमगीत ३' का साथमा 'माइकल अधिकारी’को प्रदर्शन पनि रोकिएको छ । अब शिवहरिको लक्का जवानलाई भदौतिर रिलिज गर्ने योजना रहेको बताइएको छ । चैत २८ मा नै रिलिज हुने भनिएको 'चपली हाइट ३' ले भने तोकिएको मितिमा प्रदर्शन गर्ने कि नगर्ने बारेमा केहि बताइएको छैन । निर्माणपक्षले भने चैत्र २८ मै चलचित्र प्रदर्शनमा ल्याउने अडान लिइरहेको छ । यस बारे निकेश खड्का केहि दिन पर्खने अनि मात्र निर्णय लिने बताएका छन् ।

योसँगै वैशाख १२ गतेको फिल्म ‘हिजो आजका कुरा’ पनि प्रदर्शन हुने नहुने अन्यौल छ । रेखा थापाको ‘हिरो रिटर्न्स’ वैशाख २८ मा रिलिज हुनेमा शङ्का छ ।