कोरोना भाइरसको प्रभावले सम्पूर्ण चलचित्र क्षेत्रमा पारेको असर बारेमा जानकारी गराउन चलचित्र निर्माताहरूले अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडासँग भेट गरी छलफल गरेका छन् । विश्वव्यापी रूपमा फैलिएको यस भाइरसले संसार भरको चलचित्र इन्डस्ट्रीमा सङ्कट ल्याएको छ । सङ्क्रमण त्रासको कारण दर्शक हलसम्म पुग्न नसकिरहेका बेला एक पछि अर्को गर्दै चलचित्र प्रदर्शनको लागी तोकिएको मिति सारिँदै छ । यसै बिच चलचित्र क्षेत्रले व्यहोर्नु परेको घाटालाई न्यूनीकरण गर्न नेपाल चलचित्र सङ्घले नेपाल उद्योग वाणिज्य महासङ्घको पहलमा मन्त्री खतिवडालाई कोरोना भाइरसले पारेको प्रभावका बारेमा ज्ञापन पत्र बुझाउँदै राहत प्याकेज घोषणा गर्न माग गरेको हो । यसबारे छलफल गर्दै मन्त्री खतिवडाले कोरोना भाइरसले नेपाली अर्थतन्त्रमा पार्न सक्ने प्रभावका बारेमा अध्ययन भइरहेको जानकारी गराए भने नेपाली फिल्म उद्योग पनि सो असरबाट प्रभावित भएकोमा जानकार रहेको बताए ।
साथै सबै क्षेत्रको जानकारी एकत्रित गरिरहेको तथा प्रभावबारे छलफल गरिरहेको स्पष्ट पारे। उनले चलचित्र सङ्घका पदाधिकारीलाई ज्यादै आतङ्कित हुनुपर्ने अवस्था नभएको बताएका छन् । उद्योग वाणिज्य महासङ्घका अध्यक्ष मधुसूदन प्रधानले सिनेमा हलमा कोरोना भाइरसको जोखिम न्यूनी करण गर्नका लागि उच्च सतर्कताका साथ सरसफाइ गरिरहेको र स्यानिटाइजरको व्यवस्था गरिएको जानकारी गराए । उनले कोरोना भाइरसको प्रभावले हाल सिनेमा हलमा दर्शकको सङ्ख्या न्यून भए पनि दैनिक रूपमा विभिन्न किसिमका राजस्व तथा कर तिरिरहनु परेको गुनासो गरे । छलफलमा सहभागी हुन चलचित्र सङ्घका महासचिव अशोक शर्मा, उपमहासचिव गोपालकाजी कायस्थ, कार्यसमिति सदस्य सदस्यहरू भास्कर ढुङ्गाना, अभिनेता दीपकराज गिरीलगायत उपस्थित थिए ।